Menu

भजनसंग्रह 95

ULB

1 आओ, परमप्रभुको निम्ति हामी गाऔं । हाम्रो उद्धारको चट्टानको निम्ति हामी आनन्दसाथ गाऔं ।

2 उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।

3 किनकि परमप्रभु महान् परमेश्‍वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।

4 पृथ्वीको गहिराइ उहाँको हातमा छ । पहाडहरूका उच्‍चाइहरू उहाँकै हुन् ।

5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।

6 आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।

7 किनकि उहाँ हाम्रो परमेश्‍वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्‍नेछौ ।

8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,

9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।

10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'

11 यसकारण मैले आफ्‍नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate