Menu

भजनसंग्रह 94

ULB

1 हे परमप्रभु, परमेश्‍वर जसले बदला लिनुहुन्छ । हे बदला लिनुहुने परमेश्‍वर, हामीमाथि चम्‍किनुहोस् ।

2 हे पृथ्वीका न्यायकर्ता, उठ्नुहोस् । घमण्‍डीहरूलाई जे सुहाउँदो हुन्‍छ, त्‍यो तिनीहरूलाई दिनुहोस् ।

3 हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्म खुसी हुनेछन्, दुष्‍टहरू कहिलेसम्म आनन्‍दित हुनेछन्?

4 तिनीहरू आफ्‍ना घमण्‍डका शब्‍दहरू पोखाउँछन् । खराब गर्नेहरू सबै जना अहङ्कार गर्छन् ।

5 हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।

6 तिनीहरूले विधवाहरू र तिनीहरूका देशमा बस्‍ने विदेशीलाई मार्छन्, अनि तिनीहरूले अनाथहरूको हत्‍या गर्छन् ।

7 तिनीहरू भन्छन्, “परमप्रभुले देख्‍नुहुन्‍न । याकूबका परमेश्‍वरले यो कुरामा ध्‍यान दिनुहुन्‍न ।”

8 ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?

9 उहाँ जसले कान बनाउनुभयो, उहाँले सुन्‍नुहुन्‍न र? उहाँ जसले आँखा बनाउनुभयो, उहाँले देख्‍नुहुन्‍न र?

10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ ।

11 परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।

12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।

13 दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।

14 किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।

15 फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।

16 खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ?

17 परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।

18 जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।

19 जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।

20 के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?

21 तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।

22 तर परमप्रभु मेरो अग्लो धरहरा हुनुभएको छ र मेरो परमेश्‍वर मेरो शरणस्थानको चट्टान हुनुभएको छ ।

23 तिनीहरूका आफ्नै अधर्म उहाँले तिनीहरूमाथि ल्याउनुहुनेछ र तिनीहरूको आफ्नै दुष्‍टतामा तिनीहरूलाई नष्‍ट गर्नुहुनेछ । परमप्रभु हाम्रा परमेश्‍वरले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate