Menu

भजनसंग्रह 92

ULB

1 हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,

2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,

3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।

4 किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।

6 एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः

7 जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

8 तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।

9 वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।

10 तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।

11 मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।

12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।

13 तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।

14 ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,

15 त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।

Everything we make is available for free because of a generous community of supporters.

Donate