Menu

भजनसंग्रह 91

ULB

1 जो सर्वोच्‍चको छत्रछायामा बस्‍छ, त्यो सर्वशक्तिमान्‌को छायामा रहनेछ ।

2 म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्‍वर जसमा म भरोसा गर्छु ।”

3 किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।

4 उहाँले तिमीलाई आफ्‍नो पखेटाहरूले ढाक्‍नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्‍यताचाहिं ढाल र सुरक्षा हो ।

5 तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,

6 वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।

7 हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्‍यो तिमीकहाँ आउनेछैन ।

8 तिमीले दुष्‍टको दण्ड नियाल्‍ने र देख्‍ने मात्र छौ ।

9 किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्‍चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।

10 कुनै खराबीले तिमीलाई जित्‍नेछैन । तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन ।

11 किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।

12 तिनीहरूले तिमीलाई आफ्‍ना हातले थाम्‍नेछन्, ताकि तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।

13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।

14 त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।

15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।

16 म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।

Everything we make is available for free because of a generous community of supporters.

Donate