Menu

उत्पत्ति 40

ULB

1 मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।

2 आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।

3 उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।

4 अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।

5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।

6 योसेफ बिहान तिनीहरूकहाँ आए र तिनीहरूलाई उदास देखे ।

7 उनले आफ्ना मालिकका घरमा भएको झ्यालखानामा उनीसँगै भएका फारोका अधिकारीहरूलाई भने, “तपाईंहरू आज किन यति धेरै उदास देखिनुहुन्छ?”

8 तिनीहरूले उनलाई भने, “हामी दुवैले एउटा सपना देखेका छौँ र कसैले पनि त्यसको अर्थ खोल्न सकेको छैन ।” योसेफले तिनीहरूलाई भने, “के सबै अर्थहरू परमेश्‍वरका नै होइनन् र? कृपया, मलाई ती बताउनुहोस् ।”

9 मुख्य पियाउनेले योसेफलाई आफ्नो सपना भने । तिनले उनलाई भने, “मेरो सपनामा मेरोअगि एउटा दाखको बोट थियो ।

10 त्यस दाखको बोटमा तिनवटा हाँगा थिए । जब त्यसमा टुसा पलायो , त्यसमा फूलहरू निस्किए र दाखका झुप्‍पाहरू पाके ।

11 फारोको कचौरा मेरो हातमा थियो । मैले ती दाख लिएँ र फारोको कचौरामा निचरेँ, र त्यस कचौरालाई फारोका हातमा टक्र्याएँ ।”

12 योसेफले तिनलाई भने, “यसको अर्थ यस्तो छ । तिनवटा हाँगा भनेको तिन दिन हो ।

13 तिन दिनभित्र फारोले तपाईंको शिर उच्‍च पार्नुहुनेछ र तपाईंलाई तपाईंको काममा पुनर्स्थापित गर्नुहुनेछ । तपाईं फारोका पियाउने हुनुहुँदाजस्तै तपाईंले फारोको कचौरालाई उहाँका हातमा टक्र्याउनुहुनेछ ।

14 तर तपाईंको भलो हुँदा मलाई सम्झनुहोस्, र कृपया ममाथि दया देखाउनुहोस् । मेरो विषयमा फारोलाई बताएर मलाई यस झ्यालखानाबाट बाहिर निकालिदिनुहोस् ।

15 किनकि मलाई वास्तवमा हिब्रूहरूका देशबाट अपहरण गरी ल्याइएको थियो । यहाँ पनि यस झ्यालखानामा राखिनुपर्ने कुनै काम मैले गरेको छैन ।”

16 जब मुख्य पकाउनेले सपनाको अर्थ असल भएको देखे, उनले योसेफलाई भने, “मैले पनि एउटा सपना देखेको थिएँ । रोटीका तिनवटा टोकरी मेरो टाउकोमाथि थिए ।

17 सबैभन्दा माथिको टोकरीमा फारोका निम्ति सबै किसिमका पकाइएका खाने कुरा थिए, तर चराहरूले मेरो टाउकोमाथिको टोकरीबाट ती खाइदिए ।”

18 योसेफले जवाफ दिए, “यसको अर्थ यस्तो छ । तिनवटा टोकरी भनेको तिन दिन हो ।

19 तिन दिनभित्र फारोले तपाईंको शिर उठाएर तपाईंलाई रुखमा झुण्ड्याइदिनुहुनेछ । चराहरूले तपाईंको मासु खानेछन् ।”

20 त्यसपछिको तेस्रो दिन फारोको जन्म दिन थियो । तिनले आफ्ना सबै नोकरहरूका निम्ति भोजको आयोजना गरे । आफ्ना नोकरहरूका माझमा तिनले मुख्य पियाउने र मुख्य पकाउनेलाई उभ्याए ।

21 तिनले मुख्य पियाउनेलाई उनको जिम्मेवारीमा पुनर्स्थापित गरिदिए, र उनले फेरि फारोका हातमा कचौरा टक्र्याए ।

22 तर योसेफले तिनीहरूलाई अर्थ बताएझैँ फारोले मुख्य पकाउनेलाई झुण्ड्याइदिए ।

23 मुख्य पियाउनेले भने योसेफलाई सम्झेनन्, तर उनलाई बिर्सिहाले ।

Everything we make is available for free because of a generous community of supporters.

Donate