Menu

उत्पत्ति 39

ULB

1 योसेफलाई मिश्रमा लगियो । अङ्गरक्षकहरूका एक मिश्री कप्‍तान फारोका अधिकारी पोतीफरले उनलाई इश्माएलीहरूबाट किने ।

2 परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र उनी एक समृद्ध मानिस भए । उनी आफ्ना मिश्री मालिकका घरमा बस्थे ।

3 परमप्रभु उनीसँग हुनुहुन्छ र उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ भन्‍ने कुरा उनको मालिकले देखे ।

4 योसेफले तिनको कृपादृष्‍टि पाए । उनले पोतीफरको सेवा गरे । पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए, र ती उनको जिम्मामा लगाए ।

5 तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।

6 पोतीफरले आफ्ना सबै कुरा योसेफको जिम्मामा दिए । तिनले आफूले खाने भोजनबाहेक अरू कुनै कुराको विषयमा पनि चिन्ता लिनु पर्दैनथ्यो । योसेफ सुन्दर र आकर्षक थिए ।

7 योसेफका मालिककी पत्‍नीले उनीप्रति चाहना राखिन् । तिनले भनिन्, “मसँग सुत ।”

8 उनले इन्कार गरेर आफ्ना मालिककी पत्‍नीलाई यसो भने, “हेर्नुहोस्, मेरा मालिकले यस घरमा म के गर्छु भन्‍ने कुराप्रति कुनै चिन्ता गर्नुहुन्‍न, र उहाँका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ ।

9 मभन्दा ठुलो यस घरमा कोही छैन । उहाँले तपाईंबाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईं उहाँकी पत्‍नी हुनुहुन्छ । यसैकारण मैले कसरी यस्तो दुष्‍ट काम गरी परमेश्‍वरको विरुद्ध पाप गर्न सक्छु?”

10 तिनले योसेफसँग दिनहुँ कुरा गरिन्, तर उनी तिनीसँग सुत्‍न वा तिनको नजिक जान इन्कार गरे ।

11 एक दिन उनी आफ्ना काम गर्न घरभित्र प्रवेश गरे । घरभित्र कोही पनि मानिस थिएन ।

12 तिनले उनको लुगा समातिन् र भनिन्, “मसँग सुत ।” उनले आफ्ना लुगा तिनकै हातमा छोडेर बाहिर भागे ।

13 जब योसेफ आफ्ना लुगा छोडेर बाहिर भागेका तिनले देखिन्,

14 तिनले आफ्ना घरका मानिसहरूलाई बोलाएर भनिन्, “हेर, पोतीफरले हाम्रो बेइज्‍जत गर्न एउटा हिब्रूलाई ल्याउनुभएको छ । त्यो मकहाँ सुत्‍न भनेर आयो, अनि म चिच्याएँ ।

15 जब त्यसले म चिच्‍याएकी सुन्यो, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।”

16 तिनको मालिक घर नआउन्जेलसम्म तिनले त्यो लुगा आफ्नै साथमा राखिन् ।

17 तिनले उनलाई यसरी वर्णन गरिन्, “तपाईंले हाम्रो निम्ति ल्याउनुभएको त्यो हिब्रू नोकर मेरो बेइज्‍जत गर्न मकहाँ आयो ।

18 जब म चिच्‍याएँ, त्यसले आफ्ना लुगा मकहाँ छोडेर बाहिर भाग्यो ।”

19 आफ्नो नोकरले आफ्नी पत्‍नीलाई गरेको व्यवहार आफ्नी पत्‍नीबाट सुनेपछि तिनी रिसले चुर भए ।

20 योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे । उनी त्यही झ्यालखानामा थिए ।

21 तर परमप्रभु योसेफसँग हुनुहुन्थ्यो र आफ्ना करारप्रति उहाँ भरोसायोग्य रहनुभयो । झ्यालखानाका हाकिमको नजरमा उहाँले उनलाई कृपादृष्‍टि दिनुभयो ।

22 झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो ।

23 उनको जिम्मामा भएका कुनै कुरामा त्यस झ्यालखानाका हाकिम चिन्तित हुँदैन थिए, किनभने परमप्रभु उनीसँग हुनुहुन्थ्यो । उनले जे गर्थे, परमप्रभुले समृद्धि प्रदान गर्नुहुन्थ्यो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate