Menu

२ तिमोथी 2

ULB

1 त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।

2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।

3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग ।

4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।

5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।

6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।

7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।

8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर ।

9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।

10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् ।

11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।

12 हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।

13 हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।

14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।

15 सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।

17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।

18 ती मानिसहरू सत्यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन् ।

19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।

20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्यहाँ माटा र काठका भाँडा पनि हुन्छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् ।

21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।

22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।

23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस ।

24 परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।

25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।

26 अनि दुष्‍टले आफ्नो इच्छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate