Menu

२ तिमोथी 1

ULB

1 ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित पावल,

2 मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको अनुग्रह, कृपा र शान्ति ।

3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउदछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु ।

4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।

5 सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्‍वासको सम्झना गर्दै, त्यो विश्‍वास तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।

6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार ।

7 परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर प्रेम, शक्‍ति र अनुशासनको आत्मा दिनुभएको छ ।

8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,

9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।

10 तर अहिले परमेश्‍वरको मुक्‍ति ख्रीष्‍ट येशूको आगमनले प्रकट गरिदिएको छ, जसले मृत्युलाई नाश पार्नुभयो, सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।

11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको छु ।

12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।

13 ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर ।

14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।

15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन्; यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।

16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् ।

17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।

18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate