भजनसंग्रह 42
NCB1 जसरी हरिणले खोलाको पानीको तिर्सना गर्दछ, त्यसरी नै हे मेरा परमेश्वर, म तपाईंको तिर्सना गर्दछु। 2 मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले जाऊँ र परमेश्वरलाई भेटूँ? 3 मेरो आँसु दिनरात मेरो भोजन बनेको छ, मानिसहरू निरन्तर मलाई भनिरहन्छन्, “खोइ त तेरो परमेश्वर?" 4 मेरो हृदयका कुराहरू पोखाउँदा, यी कुराहरू म सम्झन्छु: कसरी ती उत्सव मनाउने जन समूहहरूसँग जयजयकार र धन्यवादसाथ, महान् परमेश्वरको सुरक्षामा म अगुवा भएर तिनीहरूलाई परमेश्वरको भवनतर्फ लाने गर्थेँ। 5 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? मेरो अन्तस्करण तँ किन यति व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु। 6 मेरो प्राण मभित्र उदास भएको छ; यसकारण म यर्दनको देशबाट हेर्मोन पर्वत—मिसारको डाँडाबाट तपाईंलाई सम्झनेछु। 7 तपाईंको छाँगाहरूका गर्जनमा, सागरले सागरलाई पुकार्दछ; तपाईंका सम्पूर्ण छालहरू र तरङ्गहरूले मलाई छोपेका छन्। 8 याहवेहले दिनमा उहाँको अचुक प्रेम पठाउनुहुन्छ, राति उहाँले मलाई एउटा गीत दिनुहुन्छ, जुनचाहिँ मेरो जीवनको परमेश्वरलाई प्रार्थना हो। 9 परमेश्वर मेरा चट्टानलाई म भन्छु, “तपाईंले मलाई किन बिर्सनुभएको? शत्रुको थिचोमिचोले गर्दा म किन शोक गरेर हिँडिरहनुपर्ने?" 10 मेरा हाडहरूमा गहिरो चोट पर्छ, जब मेरा वैरीहरूले मलाई गिल्ला गर्दै दिनभरि भन्छन्, “खोइ त तेरो परमेश्वर?" 11 हे मेरो प्राण, तँ किन उदास हुन्छस्? हे मेरो अन्तस्करण, तँ किन यति धेरै व्याकुल हुन्छस्? परमेश्वरमा आशा राख्, हे मेरा मुक्तिदाता, हे मेरा परमेश्वर, म अझै पनि तपाईंको प्रशंसा गर्नेछु।
