भजनसंग्रह 30
NCB1 हे याहवेह, म तपाईंलाई उच्च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन। 2 हे याहवेह, मेरा परमेश्वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो। 3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ। 4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर। 5 किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ; तर उहाँको कृपादृष्टि जीवनभरि नै रहन्छ; रुवाइ रातभरि मात्र रहन्छ, तर बिहान आनन्द आइहाल्छ। 6 जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ, “म कहिल्यै ढलपल हुनेछैनँ।" 7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ। 8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ; प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ; 9 “यदि मेरो विनाश भयो भने, यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र? के धुलोले तपाईंको प्रशंसा गर्छ र? के त्यसले तपाईंको विश्वसनीयताको घोषणा गर्छ र? 10 हे याहवेह, मेरो बिन्ती सुन्नुहोस् र ममाथि कृपालु हुनुहोस्; हे याहवेह, तपाईं मेरो सहायक बन्नुहोस्।" 11 तपाईंले मेरो विलापलाई उल्लासमय नाचमा परिवर्तन गर्नुभयो; तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो र आनन्दको वस्त्र पहिर्याइदिनुभयो, 12 ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्। हे याहवेह, मेरा परमेश्वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।
