भजनसंग्रह 29
NCB1 हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ। 2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर। 3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ। 4 याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ। 5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ। 6 उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ। 7 याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ। 8 याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ। 9 याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्। 10 याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ। 11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।
