भजनसंग्रह 147
NCB1 याहवेहको प्रशंसा गर! हाम्रा परमेश्वरको स्तुति गाउनु असल हो; उहाँको प्रशंसा गर्नु कत्ति आनन्दमय र उचित छ! 2 याहवेहले यरूशलेमलाई पुनर्निर्माण गर्नुहुन्छ; उहाँले इस्राएलका निर्वासितहरूलाई एकिकृत गर्नुहुन्छ। 3 उहाँले हृदय टुटेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूका चोटहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ। 4 उहाँले ताराहरूको संख्या तोक्नुहुन्छ; र ती सबैलाई नामद्वारा बोलाउनुहुन्छ। 5 हाम्रा प्रभु महान् र शक्तिशाली हुनुहुन्छ; उहाँको समझशक्तिको कुनै सीमा छैन। 6 याहवेहले नम्रहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्टलाई भुइँमा खसाल्नुहुन्छ। 7 कृतज्ञतासहित याहवेहका निम्ति गाओ; वीणाको सङ्गीत बजाउँदै हाम्रा परमेश्वरको स्तुति गाओ। 8 उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ, र पृथ्वीलाई वर्षा दिनुहुन्छ; अनि पहाडहरूमा घाँस उमार्नुहुन्छ। 9 उहाँले पशुहरूलाई आहारा दिनुहुन्छ, र कागका बचेराहरू कराउँदा तिनीहरूलाई खुवाउनुहुन्छ। 10 उहाँको आनन्द घोडाको बलमा होइन, न त योद्धाका खुट्टामा उहाँ प्रसन्न हुनुहुन्छ; 11 तर याहवेह उहाँको भय मान्नेहरूसँग, उहाँको अचुक प्रेममाथि भरोसा राख्नेहरूसँग प्रसन्न हुनुहुन्छ। 12 हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्। 13 उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ। 14 उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ। 15 उहाँले पृथ्वीमा आफ्नो आदेश पठाउनुहुन्छ; उहाँको उर्दी द्रूत गतिमा प्रसार हुन्छ। 16 उहाँले हिउँलाई ऊनजस्तै फैलाउनुहुन्छ; अनि तुसारोलाई खरानीझैँ छरिदिनुहुन्छ। 17 उहाँले असिना कङ्कढझैँ बर्साउनुहुन्छ; उहाँका कठ्याङग्रिने चिसोमा को टिक्न सक्छ? 18 उहाँले आफ्ना वचन पठाउनुहुन्छ र ती पगाल्नुहुन्छ; उहाँले आफ्नो बतास चलाउनुहुन्छ, र पानी बग्न थाल्छ। 19 उहाँले आफ्नो वचन याकोबलाई, अनि आफ्ना नियम र आदेशहरू इस्राएललाई प्रकट गर्नुभएको छ। 20 उहाँले अरू जातिको निम्ति यस्तो कार्य गर्नुभएको छैन; तिनीहरूले उहाँका नियमहरू जान्दैनन्। याहवेहको प्रशंसा गर!
