Menu

भजनसंग्रह 146

NCB

1 याहवेहको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! 2 म मेरो जीवनभरि याहवेहको प्रशंसा गर्नेछु; म बाँचुन्जेल मेरा परमेश्‍वरको प्रशंसा गाउनेछु। 3 शासकहरूमाथि भरोसा नगर; मानव-जातिमाथि, जसले बचाउन सक्दैन। 4 जब तिनीहरूको आत्मा निस्कन्छ; तिनीहरू माटोमै फर्कन्छन्; त्यही दिन नै तिनीहरूका योजनाहरू पनि व्यर्थ हुन्छन्। 5 धन्य हुन् तिनीहरू, जसका सहायक याकोबका परमेश्‍वर हुनुहुन्छ, जसको आशा याहवेह तिनीहरूका परमेश्‍वरमा हुन्छ। 6 उहाँ स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोकका सृष्‍टिकर्ता हुनुहुन्छ; उहाँ सदाकाल विश्‍वासयोग्य रहनुहुन्छ। 7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ; र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ। याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ; 8 याहवेहले दृष्‍टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ; र दबिएकाहरूलाई उठाउनुहुन्छ; याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ। 9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ; अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ; तर दुष्‍टहरूको योजनालाई विफल पारिदिनुहुन्छ। 10 याहवेहले सदासर्वदा राज्य गर्नुहुन्छ। हे सियोन, तेरा परमेश्‍वरले सारा पुस्तौँ-पुस्तासम्म राज्य गर्नुहुनेछ। याहवेहको प्रशंसा गर!

Everything we make is available for free because of a generous community of supporters.

Donate