इयोब 23
NCB1 तब इयोबले जवाफ दिए: 2 “आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ। 3 यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; यदि म उहाँको वासस्थानमा जान सक्ने भए, 4 म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ। 5 उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ। 6 के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन। 7 त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ। 8 “यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्न; यदि म पश्चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ। 9 जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ। 10 तर उहाँले मैले लिएको मार्ग जान्नुहुन्छ; जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु। 11 मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु। 12 म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु। 13 “तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ। 14 उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ। 15 यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु। 16 परमेश्वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्ले मलाई त्रसित बनाउनुभएको छ। 17 बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन।
