Menu

इयोब 22

NCB

1 तब एलीपज तेमानीले जवाफ दिए: 2 “के कुनै मानिस परमेश्‍वरको निम्ति लाभदायक हुन सक्छ र? के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र? 3 यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्‌लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र? 4 “के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ? 5 के तपाईंको दुष्‍टता ठूलो छैन र? के तपाईंका पापहरू नटुङ्गिने छैनन् र? 6 तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ। 7 तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो; 8 यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली र त्यसैमा बस्‍ने एक सम्मानित मानिस हुनुहुन्थ्यो। 9 तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो। 10 त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, र अचानक खतराले तपाईंलाई तर्साउँछ, 11 त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्‍न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ। 12 “के परमेश्‍वर स्वर्गका सर्वोच्‍चमा हुनुहुन्‍न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्! 13 तापनि तपाईं भन्‍नुहुन्छ, ‘परमेश्‍वरले के जान्‍नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र? 14 जब उहाँ आकाशमण्डलहरूमा यताउति हिँड्‍डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्‍न।’ 15 के तपाईं दुष्‍ट मानिसहरू हिँडेको त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ? 16 तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; तिनीहरूका जगहरू बाढीद्वारा बगाइए। 17 तिनीहरूले परमेश्‍वरलाई भने, ‘हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई सर्वशक्तिमान्‌ले के गर्न सक्नुहुन्छ र?’ 18 तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; यसकारण म दुष्‍ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु। 19 धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्‍ला गर्दछन्, 20 ‘निश्‍चय हाम्रा बैरीहरू नष्‍ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’ 21 “परमेश्‍वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्‍नता तपाईंकहाँ फर्केर आउनेछ। 22 उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्। 23 यदि तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्‍टता टाढा हटाउनुभयो भने, 24 र तपाईंको सुनहरू धुलोमा, तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने, 25 तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्‍ट चाँदी हुनुहुनेछ। 26 तब निश्‍चय नै तपाईंले सर्वशक्तिमान्‌मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्‍वरतिर उठाउनुहुनेछ। 27 तपाईंले परमेश्‍वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्‍नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ। 28 तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्। 29 जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्‍नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ। 30 उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।"

Everything we make is available for free because of a generous community of supporters.

Donate