यर्मिया 12
NCB1 जब म मेरो मुद्दा तपाईंकहाँ राख्दछु, तब याहवेह, तपाईं सदैव धर्मी हुनुहुन्छ। तापनि म तपाईंसँग तपाईंको न्यायको बारेमा कुरा गर्न चाहन्छु: किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन सबै अधर्मीहरू सुखी जीवन जिउँछन्? 2 तपाईंले तिनीहरूलाई रोप्नुभयो र तिनीहरूले जरा हाले; तिनीहरू बढ्छन् र फल फलाउँछन्। तिनीहरूको मुखले त सधैँ तपाईंको नाम लिन्छन्, तर तिनीहरूका हृदयबाट भने तपाईं टाढा हुनुहुन्छ। 3 तर हे याहवेह, तपाईंले मलाई जान्नुहुन्छ; तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ। तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्! तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्! 4 कहिलेसम्म देश उजाड अवस्थामा रहिरहने र मैदानको घाँस ओइलिरहने? किनकि त्यस ठाउँमा बस्नेहरू दुष्ट छन्; जनावरहरू र चराहरू नष्ट भएका छन्। यसबाहेक, मानिसहरूले यसो भनिरहेका छन्, “हामीमाथि के हुँदैछ, परमेश्वरले देख्नुहुनेछैन।" 5 “तँ मानिसहरूसँग दगुर्दा तिनीहरूले तँलाई थकाए भने, कसरी तँ घोडाहरूसित दगुर्न सक्छस्? यदि तँ सुरक्षित देशमा त ठेस खान्छस् भने, यर्दनका छेउछाउका काँढे झाडीहरूमा झन् के गर्छस्? 6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू, तिनीहरूले समेत तँलाई धोका दिएका छन्; तिनीहरूले तेरो विरुद्धमा बोलेका छन्। तिनीहरूले तँसँग मिठा-मिठा कुरा गरेका छन्, तापनि तिनीहरूलाई विश्वास नगर्। 7 “म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। 8 मेरो उत्तराधिकारीहरू मेरा निम्ति जङ्गलको सिंहजस्तै भएका छन्। तिनीहरू मसित गर्जन्छन्; यसैकारण म तिनीहरूलाई घृणा गर्दछु। 9 के मेरो उत्तराधिकार, मेरा निम्ति शिकारी पक्षीहरूले वरिपरि घेरेर आक्रमण गरी चोट लागेको चराझैँ भएको छैन? जा, गएर सबै जङ्गली पशुहरूलाई भेला गर्; तिनीहरूलाई खान ती पशुहरूलाई लिएर आइज। 10 धेरै विदेशी शासकहरूले मेरो दाखबारीलाई नष्ट गर्नेछन्, र मेरो भूमि कुल्चीमिल्ची पार्नेछन्; तिनीहरूले मेरो सुन्दर भूमिलाई उजाड र बाँझो बनाइदिनेछन्। 11 त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन। 12 मरुभूमिका सम्पूर्ण अग्ला नाङ्गा डाँडाहरूमाथि नाश गर्नेहरू हुल लागेर आउनेछन्; किनकि याहवेहको तरवारले देशको एक छेउदेखि अर्को छेउसम्म नाश गर्नेछ; कोही पनि सुरक्षित रहनेछैन। 13 तिनीहरूले गहुँ छर्नेछन्, तर काँडाहरूको कटनी गर्नेछन्; तिनीहरूले कडा परिश्रम गर्नेछन्, तर केही फाइदा हुनेछैन। याहवेहको डरलाग्दो रिसको कारण, तिनीहरू आफ्नो फसलमा लज्जित हुनेछन्।" 14 याहवेह यसो भन्नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु। 15 तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु। 16 यदि तिनीहरूले मेरा मानिसहरूका चालचलनहरू राम्रोसँग सिकेर, ‘जीवित याहवेहको नाममा भनेर शपथ’ खाए भने तिनीहरूले एक पटक मेरा मानिसहरूलाई बाल-देवताको नाममा शपथ खान सिकाएका भए तापनि तिनीहरू मेरा मानिसहरूको बीचमा स्थापित हुनेछन्। 17 तर यदि कुनै पनि राष्ट्रले वचन पालन गरेन भने म त्यसलाई सम्पूर्ण रूपले उखेलेर नाश गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
