Menu

यर्मिया 11

NCB

1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: 2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। 3 याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ भनी तिनीहरूलाई भन्: ‘यस करारका शर्तहरू पालन नगर्ने मानिस श्रापित होस्, 4 अर्थात् ती शर्तहरू, जुन मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, फलाम पगाल्ने भट्टीबाट निकालेर ल्याउँदा तिनीहरूलाई आज्ञा गरेको थिएँ।’ मैले भनेँ, ‘मलाई र मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुराहरू पालन गर्‍यौ भने तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्‍वर हुनेछु। 5 तब तिमीहरूका पितापुर्खाहरूलाई दूध र मह बग्ने देश दिनेछु’ भनी मैले तिनीहरूसित शपथ खाएर बाँधेको प्रतिज्ञा पूरा गर्नेछु; त्यही देश, जुन आज तिमीहरूको अधिकारमा छ।” मैले जवाफ दिएर भनेँ, “आमेन, याहवेह।" 6 याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा यी सबै वचनहरू घोषणा गर्: ‘करारका यी वचनहरू सुन र ती वचनहरू पालन गर। 7 “मेरो आज्ञापालन गर,” भनेर मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट ल्याएको समयदेखि आजसम्म मैले तिनीहरूलाई बारम्बार चेतावनी दिँदैआएको छु। 8 तर तिनीहरूले सुनेनन्, अथवा ध्यानै दिएनन्; बरु तिनीहरू आफ्नै दुष्‍ट हृदयको हठीपनामा लागिरहे। त्यसैले तिनीहरूले पालन नगरेको हुनाले मैले तिनीहरूलाई पालन गर्नलाई दिएको करारका सबै सरापहरू तिनीहरूमाथि ल्याएँ।’ “ 9 तब याहवेहले मलाई भन्‍नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूले मेरो विरुद्धमा एउटा षड्यन्त्र रचेका छन्। 10 तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्। 11 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तिनीहरू उम्कनै नसक्ने गरी तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले सहायताका निम्ति पुकार गरे तापनि म तिनीहरूको पुकार सुन्‍नेछैनँ। 12 तब यहूदाका र यरूशलेमका मानिसहरू जानेछन् र तिनीहरूले धूप बालेका देवताहरूकहाँ पुकार्नेछन्, तर विपत्ति आइपर्दा ती देवताहरूले कुनै पनि सहायता गर्न सक्दैनन्। 13 हे यहूदा, तँसित जति सहरहरू छन्, त्यति नै देवताहरू छन्; अनि तैँले त्यस लाजमर्दो बाल-देवताको निम्ति धूप बाल्न खडा गरेका वेदीहरू त्यति नै छन्, जति यरूशलेमका सडकहरू छन्।’ 14 “यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त कुनै विलौना अथवा बिन्ती नै गर्; किनकि तिनीहरूको विपत्तिको समयमा तिनीहरूले सहायताका निम्ति मेरो पुकार गर्दा म सुन्‍नेछैनँ। 15 “मेरो मन्दिरमा मेरी प्रिय के गर्दैछे, जबकि त्यसले धेरैजनासँग कुकर्म गरिसकेकी छे? के अर्पण गरिएको मासुले तेरो दण्ड पन्साउन सक्छ र? जब तँ आफ्ना दुष्‍ट कर्महरूमा लाग्छेस्, तब तँ खुशी हुन्छेस्।" 16 याहवेहले तँलाई मौलाएको असल फलहरूको जैतुनको रूख भन्‍नुभयो। तर शक्तिशाली आँधीबेहरीको गर्जनले उहाँले त्यसलाई आगो लगाइदिनुहुनेछ; अनि त्यसका हाँगाहरू पूर्ण रूपमा भाँचिनेछन्। 17 सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्‍ट काम गरेका छन् र मलाई रिस उठाएका छन्। 18 किनभने याहवेहले मलाई तिनीहरूको षड्यन्त्र प्रकट गरिदिनुभयो; अनि मैले त्यो थाहा पाएँ; किनकि त्यस बेला तिनीहरूले जे गरिरहेका थिए, उहाँले मलाई देखाउनुभयो। 19 तर म त मारिनलाई लगिएको एउटा सुधो थुमाजस्तो थिएँ; तिनीहरूले मलाई यसो भन्दै षड्यन्त्र रचेको मलाई थाहै थिएन, “हामी यस रूख र यसको फललाई नाश गरिदिऔँ; यसलाई जीवितहरूको देशबाट काटेर ढालिदिऔँ, ताकि यस रूखको नामको सम्झनाधरि नरहोस्।" 20 तर तपाईं सेनाहरूका याहवेह, जसले धार्मिकतासाथ न्याय गर्नुहुन्छ; अनि हृदय र मनलाई जाँच गर्नुहुन्छ; तिनीहरूमाथि तपाईंको बदला म देख्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु। 21 यसकारण “याहवेहको नाममा अगमवाणी नगर्, नत्रता तँ हाम्रो हातबाट मर्नेछस्,” भन्दै तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ: 22 यसकारण सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूका जवान मानिसहरू तरवारले र तिनीहरूका छोरीहरूचाहिँ अनिकालले मर्नेछन्। 23 अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।"

Everything we make is available for free because of a generous community of supporters.

Donate