Menu

होशे 5

NCB

1 “हे पुजारीहरू हो, यो कुरा सुन! हे इस्राएलीहरू हो, ध्यान दिएर सुन! हे राजकीय घराना हो, ध्यानसित सुन! यो न्याय तिमीहरूको विरुद्धमा छ: तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ, र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ। 2 विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्; म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु। 3 म एफ्राइमको बारेमा सबै कुरा जान्दछु; इस्राएल मदेखि लुकेको छैनँ। एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्; इस्राएल भ्रष्‍ट भएको छ। 4 “तिनीहरूका कामहरूले तिनीहरूलाई आफ्ना परमेश्‍वरतर्फ फर्कन दिँदैन। तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ; तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्। 5 इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ; इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्‍कर खानेछन्; तिनीहरूसँग यहूदाले पनि ठक्‍कर खानेछ। 6 जब तिनीहरू याहवेहलाई खोज्न आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्, तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्; उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ। 7 तिनीहरू याहवेहप्रति विश्‍वासघाती भएका छन्; तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्। जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्, तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्। 8 “गेबामा तुरही फुक, रामामा बिगुल फुक। बेथ-आवेनमा युद्धको ध्वनि उठाओ; हे बेन्यामीन, अगुवाइ गर। 9 न्यायको दिनमा एफ्राइमलाई उजाड पारिनेछ। इस्राएलका कुलहरूका बीचमा यी कुराहरू निश्‍चित छन्, म घोषणा गर्दछु। 10 यहूदाका अगुवाहरू सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्। म तिनीहरूमाथि वर्षाको बाढीजस्तै मेरो क्रोध खन्याउनेछु। 11 एफ्राइम थिचोमिचोमा परेको छ, न्यायमा त्यो कुल्चीमिल्ची भएको छ; त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ। 12 म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु, र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु। 13 “जब एफ्राइमले आफ्नो रोग देख्यो र यहूदाले आफ्नो चोट देख्यो, तब एफ्राइम अश्शूरतिर फर्क्यो, र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो। तर त्यसले तँलाई निको पार्न सक्दैन; त्यसले तेरा घाउ निको पार्न सक्दैन। 14 किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु। म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु; म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन। 15 जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्, र तिनीहरूले मेरो अनुहार खोज्दैनन्, तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु; अनि आफ्नो कष्‍टमा तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।"

Everything we make is available for free because of a generous community of supporters.

Donate