होशे 4
NCB1 हे इस्राएलका मानिसहरू हो, याहवेहको वचन सुन, देशमा बस्नेहरूको विरुद्धमा याहवेहले दोष लगाउनुभएको छ: “यस देशमा विश्वासयोग्यता छैन, न त प्रेम नै छ; परमेश्वरलाई स्वीकार गर्ने कोही पनि छैन। 2 यहाँ श्राप, झूट र हत्या, चोरी र व्यभिचार मात्र छन्; तिनीहरूले सबै सीमाहरू नाघेका छन्; अनि रक्तपातमाथि रक्तपात गर्दछन्। 3 यसकारण देश उजाड भएको छ; अनि देशमा बस्ने सबै मानिसहरू नष्ट भएका छन्; जङ्गली जनावरहरू, आकाशमा उड्ने चराचुरुङ्गीहरू र समुद्रका माछाहरू समेत नष्ट भएका छन्। 4 “तर कुनै पनि मानिसले आरोप नलगाओस्, न त कुनै मानिसले एक-अर्कालाई दोष लगाओस्; किनकि तिमीहरूका मानिसहरू पुजारीको विरुद्धमा दोष लगाउनेहरूजस्ता छन्। 5 तिमीहरू दिनरात ठक्कर खान्छौ; अनि अगमवक्ताहरू पनि तिमीहरूसँगै ठक्कर खान्छन्। यसकारण म तिमीहरूकी आमालाई नाश गर्नेछु— 6 मेरा मानिसहरू ज्ञानको अभावले नष्ट भएका छन्। “तिमीहरूले ज्ञानलाई इन्कार गरेको कारण, म पनि तिमीहरूलाई मेरो पुजारी हुनलाई इन्कार गर्नेछु; किनभने तिमीहरूले आफ्ना परमेश्वरको आज्ञालाई वास्ता गरेका छैनौ; तसर्थ म पनि तिमीहरूका छोराछोरीहरूलाई वास्ता गर्नेछैनँ। 7 जति धेरै पुजारीहरू भए, तिनीहरूले त्यत्ति नै मेरो विरुद्धमा धेरै पाप गरे; तिनीहरूले आफ्ना महिमित परमेश्वरलाई घृणित कुराहरूसँग साटे। 8 तिनीहरू मेरा मानिसहरूका पापद्वारा पोसिन्छन्, र तिनीहरूका दुष्टताको स्वाद लिन्छन्। 9 अनि यस्तो हुनेछ: जस्ता प्रजाहरू छन्, त्यस्तै पुजारीहरू हुनेछन्। म ती दुवैलाई तिनीहरूको खराब चालचलनको निम्ति दण्ड दिनेछु, र तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूलाई दिनेछु। 10 “तिनीहरूले खानेछन्, तर सन्तुष्टि हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा संलग्न हुनेछन्, तर तृप्त हुनेछैनन्; तिनीहरू वेश्यावृत्तिमा सामेल हुनका लागि तिनीहरूले 11 याहवेहलाई त्यागेका छन्; पुरानो दाखमद्य र नयाँ दाखमद्यले मेरा प्रजाको समझशक्ति नष्ट पारिदिन्छ। 12 मेरा मानिसहरूले काठको मूर्तिसित सल्लाह लिन्छन्, र तिनीहरूका जोखना हेर्नेले काठको लहुरोसँग कुराकानी गर्छन्। वेश्यावृत्तिको आत्माले तिनीहरूलाई बहकाउँछ; तिनीहरू आफ्ना परमेश्वरप्रति अविश्वासयोग्य छन्। 13 तिनीहरूले पर्वतका टाकुराहरूमा बलिदान चढाउँछन्; अनि डाँडाहरूमा होमबलिहरू चढाउँछन्; तिनीहरूले राम्रो छाया भएको ठाउँ, झ्याम्म परेका फलाँट, लहरे-पीपल र तारपीनको रूखमुनि बलिदान चढाउँछन्। यसकारण तिमीहरूका छोरीहरू वेश्यावृत्तिमा र तिमीहरूका बुहारीहरू व्यभिचारमा लागेका छन्। 14 “जब तिमीहरूका छोरीहरूले वेश्यावृत्ति गर्छन्, म तिमीहरूका छोरीहरूलाई दण्ड दिनेछैनँ; न त तिमीहरूका बुहारीहरूलाई नै दण्ड दिनेछु; जसले व्यभिचार गर्छन्; किनकि पुरुषहरू आफैँ वेश्याहरूतिर लागेका छन्, र देवदासीहरूसँग बलिदान चढाउँछन्— समझशक्ति नभएका मानिसहरू नष्ट हुनेछन्! 15 “हे इस्राएल, तैँले व्यभिचार गरे तापनि यहूदाचाहिँ दोषी नठहरिओस्। “तिमीहरू गिलगालमा नजाओ; न त बेथ-आवेनमा उक्लेर जाओ। न त ‘जीवित याहवेहको नाममा,’ शपथ खाओ! 16 इस्राएलका मानिसहरू हठी छन्; ढीट कोरलीझैँ छन्। तब कसरी याहवेहले तिनीहरूलाई चरनमा थुमालाई चराएजस्तै चराउन सक्नुहुनेछ त? 17 एफ्राइम मूर्तिसँग जोडिएको छ; त्यसलाई आफ्नै चालमा छोडिदेओ! 18 तिनीहरूको मद्य सकिए तापनि तिनीहरू वेश्यावृत्तिमा निरन्तर लागिरहन्छन्; तिनीहरूका शासकहरू लाजलाग्दो मार्गलाई अति मन पराउँछन्। 19 आँधीबेहरीले तिनीहरूलाई उडाएर लैजानेछ; अनि तिनीहरूका बलिदानहरूले तिनीहरूलाई लाजमा पार्नेछ।
