Menu

रोमी 10

ULB

1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।

2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।

3 किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।

4 विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ ।

5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”

6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने ?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) ।

7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने ?’ (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),

8 तर यसले के भन्छ ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।

9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।

10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।

11 किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”

12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।

13 किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।

14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने ? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने ? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन् ?

15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र ? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा ?”

16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ ?”

17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।

18 तर म भन्छु, “के तिनीहरूले सुनेनन् ?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”

19 यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले जानेन ?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”

20 यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”

21 तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate