Menu

प्रकाश 4

ULB

1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”

2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।

3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।

4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।

5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।

6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।

7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।

8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।

9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,

10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,

11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate