Menu

भजनसंग्रह 97

ULB

1 परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।

2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।

3 आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।

4 उहाँको बिजुलीको चमकले संसारलाई उज्‍यालो बनाउँछ । पृथ्वीले देख्‍छ र थरथर काम्छ ।

5 परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।

6 आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।

7 कुँदेका आकृतिहरू पुज्‍नेहरू, व्‍यर्थका मूर्तिहरूमा घमण्‍ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्‍टो पर!

8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।

9 हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्‍च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्‍च हुनुहुन्छ ।

10 तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्‍टको हातबाट बाहिर निकाल्नुहुन्छ ।

11 धार्मीहरूका निम्ति ज्‍योति प्रकट हुन्‍छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।

12 ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate