Menu

भजनसंग्रह 66

ULB

1 हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ ।

2 उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

3 परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।

4 सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला

5 आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।

6 उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।

7 उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला

8 हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।

9 उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न ।

10 हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।

11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो ।

12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।

13 म तपाईंको मन्‍दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्‍नो भाकल पुरा गर्नेछु,

14 जुन म संकष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।

15 म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला

16 हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।

17 मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो ।

18 मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन ।

19 तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।

20 परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन ।

Everything we make is available for free because of a generous community of supporters.

Donate