Menu

भजनसंग्रह 48

ULB

1 परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।

2 महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।

3 त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।

4 हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।

5 जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।

6 कम्‍पले तिनीहरूलाई समात्‍यो, प्रसव वेदना परेकी स्‍त्रीझैं पीडित भए ।

7 पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।

8 सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला

9 हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं ।

10 हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।

11 तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।

12 सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्‍ती गर,

13 त्यसका पर्खालहरू ध्‍यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्‍छौ ।

14 किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate