Menu

भजनसंग्रह 37

ULB

1 खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।

2 किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।

3 परमप्रभुमा भरोसा राख र जे असल छ सो गर । देशमा बसोवास गर र विश्‍वस्‍ततामा उपभोग गर ।

4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।

5 आफ्ना मार्गहरू परमप्रभुलाई देऊ । उहाँमा भरोसा गर र उहाँले तिम्रो निम्‍ति काम गर्नुहुनेछ ।

6 उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।

7 परमप्रभुको सामु मौन बस र धैर्यपूर्वक उहाँको आसा गर । आफूले गरेका कुरामा कोही सफल हुँदा वा त्यसले दुष्‍ट षड्यन्त्रहरू बनाउँदा क्रोधित नहोऊ ।

8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।

9 दुष्‍ट काम गर्नेहरूलाई बहिकृत हुनेछन्, तर परमप्रभुको आसा गर्नेहरूले देशको उत्तराधिकार गर्नेछन् ।

10 केही क्षणमा नै दुष्‍ट मानिस लोप हुनेछन् । तिमीले त्यसको ठाउँमा हेर्नेछौ तर त्यो गइसकेको हुनेछ ।

11 तर नम्रहरूले देशको उत्तराधिकार गर्नेछन् र ठुलो समृद्धिमा खुसी हुनेछन् ।

12 दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

13 परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ ।

14 थिचोमिचोमा परेका र दरिद्रहरूलाई ढाल्न, सोझाहरूलाई मार्न दुष्‍टहरूले आफ्‍ना तरवारहरू थुतेका छन् र आफ्‍ना धनुमा ताँदो चढाएका छन् ।

15 तिनीहरूका तरवारहरूले तिनीहरूका आफ्‍नै हृदयहरू छेड्नेछन् र तिनीहरूका धनुहरू भाँचिनेछन् ।

16 धेरै जना दुष्‍ट मानिसहरूका प्रशस्‍तताभन्दा धर्मीसँग भएको थोरै नै असल हो ।

17 किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।

18 परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।

19 समय खराब हुँदा तिनीहरू लज्‍जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्‍त खानेकुरा हुनेछ ।

20 तर दुष्‍ट मानिसहरू नष्‍ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्‍म हुनेछन् र धूवाँमा हराउनेछन् ।

21 दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।

22 परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन् ।

23 परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ ।

24 त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ ।

25 म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्‍यक्‍ति त्यागिएको वा त्‍यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।

26 दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्‍यसका छोराछोरीले आशिष्‌ पाउँछन् ।

27 खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।

28 किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्‍वासयोग्य अनुयायीहरूलाई त्याग्‍नुहुन्‍न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्‍टका सन्तानहरू बहिष्कृत हुनेछन् ।

29 धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।

30 धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।

31 आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।

32 दुष्‍ट व्‍यक्‍तिले धर्मी व्‍यक्‍तिलाई हे्र्छ र तिनलाई मार्न खोज्छ ।

33 परमप्रभुले त्यसलाई दुष्‍ट व्‍यक्‍तिको हातमा छोड्‍नुहुन्‍न वा त्यसको न्याय हुँदा त्यसलाई दोषी ठहराउनुहुन्‍न ।

34 परमप्रभुको आसा गर र उहाँको मार्ग कायम राख, अनि उहाँले देश अधिकार गर्न तिमीलाई उठाउनुहुनेछ । दुष्‍टहरू बहिष्‍कृत भएको तिमीले देख्‍नेछौ ।

35 दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।

36 तर जब म फेरि त्यो बाटो जाँदा, त्यो त्यहाँ थिएन । मैले त्यसलाई खोजें तर त्यसलाई भेट्टाउन सकिएन ।

37 इमान्‍दार मानिसलाई हेर र सझोलाई ध्यान देऊ । मिलापको मानिसको निम्ति असल भविष्य छ ।

38 पापीहरू पूर्ण रूपमा नष्‍ट हुनेछन् । दुष्‍ट मानिसको भविष्य नष्‍ट हुनेछ ।

39 धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।

40 परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate