Menu

भजनसंग्रह 115

ULB

1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस् ।

2 जातिहरूले किन यसो भन्‍ने, “तिनीहरूका परमेश्‍वर कहाँ छ?”

3 हाम्रा परमेश्‍वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्‍छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।

4 जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।

5 ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्‍दैनन् ।

6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।

7 ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन् ।

8 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ ।

9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।

12 परमप्रभुले हामीलाई ध्‍यान दिनुहुन्छ र हामीलाई आशिष्‌ ‌‌दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष्‌ ‌‌दिनुहुनेछ ।

13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष्‌ ‌‌दिनुहुनेछ ।

14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्‍ख्या धेरै वृद्धि गरून् ।

15 परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।

17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्‍तमा जाने कसैले गर्नेछ ।

18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।

Everything we make is available for free because of a generous community of supporters.

Donate