Menu

भजनसंग्रह 107

ULB

1 परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ र उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

2 परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।

3 उहाँले तिनीहरूलाई विदेशी भूमिहरूबाट, पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ ।

4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।

5 किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

7 उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।

8 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

9 किनकि उहाँले तिर्खाएकाहरूको तिर्खा मेटाउनुहुन्छ र भोकाहरूका इच्छाहरूलाई उहाँले असल थोकहरूले पुरा गर्नुहुन्छ ।

10 कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।

11 तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।

12 उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।

13 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

14 उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।

15 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

16 किनकि उहाँले काँसाका ढोकाहरू फुटाउनुभएको छ र फलामका डण्डाहरू काट्नुभएको छ ।

17 आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।

18 तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।

19 तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

20 उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

21 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

22 तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।

23 केहीले समुद्रमा यात्रा गर्छन् र समुद्रपारि व्यपार गर्छन् ।

24 यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।

25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।

27 तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।

28 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

29 उहाँले आँधीलाई शान्त पार्नुभयो र छालहरू शान्‍त भए ।

30 तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।

31 परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

32 तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।

33 उहाँले नदीहरूलाई उजाडस्‍थानमा र पानीका मूलहरूलाई सुख्खा जमिनमा,

34 र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ ।

35 उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।

36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् ।

37 खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

38 उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।

39 पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए ।

40 उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।

41 तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।

42 सोझो मन भएकाहरूले यो देख्‍नेछन् र आनन्‍दि हुनेछन् । सबै दुष्‍टताले आफ्‍नो मुख बन्द गर्छ ।

43 बुद्धिमान्‌हरूले यी कुराहरूमा ख्‍याल गर्नुपर्छ र परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूमा ध्‍यान गर्नुपर्छ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate