Menu

भजनसंग्रह 104

ULB

1 मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

2 तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।

3 तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।

4 उहाँले हावालाई आफ्नो दूतहरू र आगोका ज्वालाहरूलाई आफ्ना सेवकहरू बनाउनुहुन्छ ।

5 उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।

6 तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।

7 तपाईंको हप्कीले पानीहरू पछि हटेर गए । तपाईंको गर्जनको सोरमा तिनीहरू भागे ।

8 तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।

9 तपाईंले तिनीहरूका निम्ति सिमाना तोक्‍नुभएको छ, जुन तिनीहरूले नाघ्‍ने छैनन् । तिनीहरूले पृथ्वीलाई फेरि ढाक्‍नेछैनन् ।

10 उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।

11 तिनीहरूले मैदानका सबै जनावरलाई पानी दिन्‍छन् । जङ्गली गधाहरूले आफ्‍नो तिर्खा मेटाउँछन् ।

12 नदीका किनाराहरूमा चराहरूले आफ्‍ना गुँड बनाउँछन् । तिनीहरूले हाँगाहरूमा गाउँछन् ।

13 आकाशमा भएको पानीका आफ्‍ना भण्डारहरूबाट उहाँले पहाडहरूलाई पानीले भिजाउनुहुन्छ । पृथ्वी उहाँको श्रमको फलले पूर्ण छ ।

14 उहाँले गाईवस्‍तुको निम्ति घाँस र मानिसलाई खेती गर्न बिरुवाहरू उमार्नुहुन्छ, ताकि मनिसले पृथ्वीबाट खानेकुरा उत्पादन गरोस् ।

15 मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।

16 परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।

17 चराहरूले त्‍यहाँ गुँड बनाउँछन् । सारसले सल्लाका रूखहरूलाई आफ्नो घर बनाउँछ ।

18 घोरलहरू उच्‍च पहाडहरूतिर बस्छन् । पहाडका टाकुराहरू खरायोहरूका शरणस्थान हुन् ।

19 उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्‍नुभयो । सुर्यले आफ्‍नो अस्ताउने समय जान्दछ ।

20 तपाईंले रातको अँध्यारो बनाउनुहुन्छ, जब वनका सबै पशुहरू बाहिर निस्‍किन्‍छन् ।

21 जवान सिंहहरू आफ्‍ना शिकारको निम्ति गर्जिन्छन् र परमेश्‍वरबाट आफ्‍नो खानेकुरा खोज्छन् ।

22 जब सूर्य उदाउँछ, तिनीहरू फर्कन्छन् र आफ्‍ना खोरहरूमा सुत्छन् ।

23 यसबिच मानिसहरू आ-आफ्ना काममा बाहिर जान्छन् र साँझसम्म नै परिश्रम गर्छन् ।

24 हे परमप्रभु, तपाईंका कामहरू कति धेरै र फरक किसिमका छन्! बुद्धिले तपाईंले तिनीहरू सबै बनाउनुभयो । पृथ्वी तपाईंको कामहरूले भरिन्‍छ ।

25 त्यहाँ गहिरो र फराकिलो, साना र ठुला दुवै असंख्या प्राणीले भरिएको समुद्र छ ।

26 पानी जहाजहरू त्यहाँ यात्रा गर्छन् र लिव्यातन पनि त्यहाँ छ, जसलाई तपाईंले समुद्रमा खेल्नलाई बनाउनुभयो ।

27 यी सबैले समयमा आफ्‍नो खाना पाउनलाई तपाईंतिर हेर्छन् ।

28 तपाईंले तिनीहरूलाई दिनुहुँदा, तिनीहरूले बटुल्छन् । तपाईंले आफ्नो हात खोल्नुहुँदा, तिनीहरू सन्‍तुष्‍ट हुन्छन् ।

29 तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।

30 तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।

31 परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

32 उहाँले तल पृथ्वीमा हेर्नुहुन्‍छ र त्‍यो हल्लिन्‍छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।

33 आफ्‍नो सारा जीवनभरि म परमप्रभुको निम्ति गीत गाउनेछु । म बाँचुन्‍जेल आफ्‍नो परमेश्‍वरको स्‍तुति गाउनेछु ।

34 मेरो विचारहरू उहाँलाई मन पर्दो होस् । म परमप्रभुमा आनन्‍दित हुनेछु ।

35 पापीहरू पृथ्वीबाट लोप होऊन् र दुष्‍टहरू कदापि नरहून् । आफ्‍नो सारा जीवनभरि म परमप्रभुको प्रशंसा गर्छु । परमप्रभुको स्तुति होस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate