Menu

हितोपदेश 21

ULB

1 राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

2 हरेक मानिसको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक छ, तर परमप्रभुले नै हृदयको जाँच गर्नुहुन्छ ।

3 बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।

4 अहङ्कारी आँखा, घमण्डी हृदय र दुष्‍टको बत्ती पाप हुन् ।

5 परिश्रमीका योजनाहरूले केवल उन्‍नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।

6 झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।

7 दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

8 दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।

9 झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।

10 दुष्‍टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।

11 खिल्ली गर्नेलाई दण्ड दिइँदा निर्बुद्धि बुद्धिमान् बन्छ, र बुद्धिमान् मानिसलाई अर्ती दिइँदा त्यसले ज्ञानलाई पक्रिराख्छ ।

12 धर्मात्माले दुष्‍ट मानिसको घरको निगरानी गर्छ । उहाँले दुष्‍ट मानिसहरूमाथि विपत्ति ल्याउनुहुन्छ ।

13 गरिबको पुकारामा कान थुन्‍नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।

14 गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।

15 न्याय कायम हुँदा यसले धर्मात्मामा आनन्द ल्याउँछ भने खराबी गर्नेहरूमा त्रास ल्याउँछ ।

16 समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।

17 मोजमज्‍जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।

18 दुष्‍ट मानिस धर्मी मानिसको लागि प्रायश्‍चित्त हुन्छ, र विश्‍वासघाती मानिस सोझो मानिसको लागि प्रायश्‍चित्त हुन्छ ।

19 झगडालु र रिसालु पत्‍नीसित बस्‍नुभन्दा उजाड्-स्थानमा बस्‍नु बेस हुन्छ ।

20 इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।

21 असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्‍जत पाउँछ ।

22 बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।

23 आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ ।

24 घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।

25 अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।

26 दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।

27 दुष्‍टको बलिदान घृणित हुन्छ । त्यसले खराब अभिप्राय लिएर ल्याउँदा यो झनै घृणित हुन्छ ।

28 झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ ।

29 दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।

30 यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।

31 घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate