Menu

गन्ती 13

ULB

1 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

2 “केही मानिसहरूलाई कनानको भूमिको जाँच गर्न पठा, जुन मैले इस्राएलका मानिसहरूलाई दिएको छु । तिनीहरूका पुर्खाका हरेक कुलबाट एक-एक जना पठा । ती हरेक तिनीहरूका अगुवा हुनुपर्छ ।”

3 मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए, ताकि तिनीहरूले परमप्रभुको आज्ञा पालन गरून् । तिनीहरू सबै इस्राएलका मानिसहरूका अगुवाहरू थिए ।

4 तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;

5 शिमियोनका कुलबाट होरीका छोरा शाफात;

6 यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब;

7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल;

8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया;

9 बेन्यामीनको कुलबाट, रफूका छोरा पलती;

10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल;

11 योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी;

12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल;

13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर;

14 नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी

15 गादको कुलबाट माकीका छोरा गूएल ।

16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।

17 मोशाले तिनीहरूलाई कनानको भूमि जाँचबुझ गर्न पठाए । तिनले तिनीहरूलाई भने, “नेगेवबाट प्रवेश गर र पहाडी मुलुकतिर जाओ ।

18 यो कस्तो छ भनी भूमिको जाँचबुझ गर ।

19 त्यहाँ बस्‍ने मानिसहरूलाई हेर, तिनीहरू बलिया वा कमजोर छन् वा तिनीहरू धेरै छन् वा थोरै छन् ।

20 तिनीहरू बसोबास गरेका भूमि कस्तो छ, हेर । यो असल वा खराब छ ? सहरहरू कस्ता छन् ? तिनीहरू छाउनी वा किल्ला भएको सहरहरूमा छन् ? भूमि कस्तो छ । अन्‍न उमार्न असल छ वा छैन, रुखहरू छन् वा छैनन् । साहसी होओ र त्यो भूमिको उत्पादनको नमुना लिएर आओ ।” त्यस बेला पहिलो दाख पाक्‍ने समय थियो ।

21 यसैले ती मानिसहरू गए र जीनको मरुभूमिदेखि लेबो-हमात नजिकको रेहोबसम्मको भूमिको जाँचबुझ गरे ।

22 तिनीहरू नेगेवबाट उक्लेर हेब्रोनमा आइपुगे । त्यहाँ अनाकका सन्तानहरू अहीमान, शेशै र तल्मै थिए । होब्रोन मिश्रको सोअनभन्दा सात वर्ष पहिले निर्माण गरिएको थियो ।

23 जब तिनीहरू एश्कोलको बेँसीमा पुगे, तिनीहरूले दाखको झुप्पासहितको हाँगा काटे । तिनीहरूले यसलाई घोचामा राखेर दुई जनाले बोके । तिनीहरूले अनार र नेभारा पनि ल्याए ।

24 इस्राएलका मानिसहरूले त्यहाँ दाखको झुप्पा काटेकाले त्यस ठाउँलाई एश्कोलको बेँसी नाउँ राखियो ।

25 चालिस दिनपछि तिनीहरू भूमिको जाँचबुझ गरेर फर्के ।

26 तिनीहरू मोशा, हारून र इस्राएलका सारा समुदायकहाँ पारानको मरुभूमिमा भएको कादेशमा फर्केर आए । तिनीहरूले तिनीहरूलाई र सारा समुदायलाई खबर ल्याए र भूमिको उत्पादन तिनीहरूलाई देखाए ।

27 तिनीहरूले मोशालाई भने, “तपाईंले पठाउनुभएको मुलुकमा हामी पुग्यौँ । यसमा साँच्‍चै दुध र मह बग्दोरहेछ । यसका केही उत्पादनहरू यहाँ छन् ।

28 तथापि, त्यहाँ बसोबास गर्ने मानिसहरू बलिया छन् । सहरमा किल्ला हालिएका छन् र ती धेरै ठुला छन् । हामीले अनाकका सन्तानहरूलाई पनि देख्यौँ ।

29 नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”

30 अनि यहोशूले मोशाको सामु मानिसहरूलाई चुपचाप बनाए र भने, “जाऔँ र भूमिलाई कब्जा गरौँ, किनभने हामीले यसलाई निश्‍चय पनि जित्‍नेछौँ ।

31 तर तिनीसँग गएका अरू मानिसहरूले भने, “हामीले तिनीहरूलाई आक्रमण गर्न सक्दैनौँ, किनभने तिनीहरू हामीभन्दा बलिया छन् ।”

32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।

33 हामीले त्यहाँ देखेका सबै मानिस अग्ला कदका छन् । हामीले त्यहाँ दैत्यहरू अर्थात् अनाकका सन्तानहरू देख्यौँ जो दैत्यहरूबाट आएका थिए । तिनीहरूसँग तुलना गर्दा हामी हाम्रो नजरमा फट्याङ्ग्राजस्ता थियौँ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate