Menu

मत्ती 25

ULB

1 तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।

3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।

4 तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।

5 दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।

6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा ! बाहिर जाऊ अनि उनलाई भेट ।’

7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।

8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’

9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’

10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’

12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

13 त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।

14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

15 उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।

16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।

17 त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।

18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

20 पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’

21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’

22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’

23 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर ! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’

24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।

25 मलाई डर थियो । त्‍यसकारण, म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’

26 तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

27 त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

28 त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।

30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।

32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।

33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।

34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।

35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’

37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ ?

38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ ?

39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ ?’

40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’

41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,

42 किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;

43 म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’

44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ ?’

45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate