Menu

मत्ती 10

ULB

1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।

2 यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्‍ना;

3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;

4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो ।

5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”

6 यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।

7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।

8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।

9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।

10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।

11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस ।

12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर ।

13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।

14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।

15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।

17 मानिसहरूदेखि होसियार बस ! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।

18 अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।

19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।

20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।

21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।

22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ ।

23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।

25 चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान् !

26 त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।

27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।

28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।

29 के सानो सिक्‍कामा दुईवटा भङ्गेरा बिक्दैनन् र ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।

30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।

31 नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।

32 यसकारण, जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।

33 तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।

35 किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ ।

36 मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।

37 जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

38 जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

39 जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।

40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

41 जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।

42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate