Menu

लुका 23

ULB

1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।

2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ ।”

3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”

4 पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”

5 तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै छ ।”

6 त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।

7 जब उनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।

8 जब हेरोदले येशूलाई देखे, उनी धेरै खुसी भए, किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।

9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन ।

10 मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।

11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।

12 हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्कासँग साथी भए (त्यस अगि उनीहरू शत्रु थिए) ।

13 तब पिलातसले मुख्य पुजारीहरू र शासकहरू र मानिसहरूका भिडलाई बोलाए,

14 र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ । तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”

15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।

16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”

17 अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।

18 तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”

19 बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।

20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।

21 तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”

22 पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”

23 तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।

24 त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।

25 त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।

26 तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए ।

27 मानिसहरूको एउटा ठुलो भिड, उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।

28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोऊ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।

29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’

30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’

31 यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान् ?”

32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।

33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।

34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”

36 अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,

37 “यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”

38 “यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।

39 क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई र आफैँलाई बचाऊ ।”

40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, तँ आफैँ यस्तो अवस्थामा छस् ?

41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ, हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”

42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”

43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”

44 यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।

45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।

46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”

47 जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”

48 यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।

49 तर उहाँका चिनाजानीका मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।

50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए । तिनी महासभाका सदस्य थिए, जो एक असल र धार्मिक मानिस थिए ।

51 (उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।

52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।

53 उनले तल लगे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।

54 यो तयारीको दिन थियो, र विश्राम दिन सुरु हुनै लागेको थियो ।

55 गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो, त्यसलाई हेरे ।

56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे ।

Everything we make is available for free because of a generous community of supporters.

Donate