Menu

यहोशू 21

ULB

1 त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।

2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”

3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए ।

4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।

5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।

6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।

7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।

8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।

9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।

10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो ।

11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।

12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।

13 तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना,

14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।

15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,

16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।

17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,

18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।

19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।

20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।

21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,

22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।

23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन,

24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।

25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो ।

26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।

27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।

28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,

29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए ।

30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,

31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।

32 नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।

33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।

34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,

35 यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।

36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,

37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।

38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।

39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।

40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।

41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।

42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।

43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।

44 त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

45 परमप्रभुले इस्राएलको घरानालाई भन्‍नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate