Menu

यहोशू 19

ULB

1 दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो ।

2 तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा,

3 हसर-शूआल, बाला, एसेम,

4 एल्तोलद, बतूल र होर्मा ।

5 शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा,

6 बेथ-लबाओत, शारूहेन ।

7 शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।

8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।

9 शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्‍यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।

10 कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्‍यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।

11 तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो ।

12 सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।

13 त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो ।

14 सिमानाले हन्‍नतोनतिर उत्तरतिर मोड लियो र यिप्‍ताहएलको बेँसीमा टुङ्गियो ।

15 यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।

16 यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।

17 चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्‍यो ।

18 तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,

19 हपरैम, शीओन र अनाहारत ।

20 यसमा रब्बीत, किश्‍योन, एबेस,

21 रेमेथ, एन-गन्‍नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।

22 तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।

23 तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो ।

24 पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्‍यो ।

25 तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,

26 अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्‍चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्‍नातसम्म फैलिएको थियो ।

27 त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।

28 यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।

29 सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,

30 उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए ।

31 तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।

32 छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्‍तालीको कुललाई पर्‍यो ।

33 तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।

34 सिमाना पश्‍चिमपट्टि अज्नोथ-तबोरतिर मोडियो र हक्‍कोकतिर लाग्यो; यसले दक्षिणमा जबूलूनलाई छोयो र पश्‍चिममा आशेरलाई र पूर्वमा यहूदालाई यर्दन नदीमा भेट्टायो ।

35 यिनीहरू किल्ला भएका सहरहरू थिएः सिद्दीम, सेर, हम्मत, रक्‍कत, किन्‍नरेत,

36 अदामा, रामा, हासोर,

37 केदेश, एद्रेई, एन-हासोर ।

38 यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात बेथ-शेमेश थिए । तिनीहरूका गाउँहरूसहित उन्‍नाइसवटा सहर थिए ।

39 तिनीहरूका गाउँहरूसहित सहरहरू यो कुल-कुलअनुसार यो नप्‍तालीको उत्तराधिकार थियो ।

40 सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो ।

41 यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश,

42 शालवीन, अय्यालोन, इत्ला पर्थे ।

43 यसमा एलोन, तिम्‍ना, एक्रोन,

44 एल्तके, गिब्‍बतोन, बालात,

45 यहूद, बने-बरक, गात-रिम्‍मोन,

46 मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो ।

47 जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।

48 कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।

49 जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।

50 परमप्रभुको आज्ञाद्वारा तिनले मागेका, तिनीहरूले तिनलाई एफ्राइमको पहाडी देशको तिम्‍नथ-सेरह दिए । तिनले त्यो सहरको पुनर्निर्माण गरे र त्यहाँ बसे ।

51 भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।

Everything we make is available for free because of a generous community of supporters.

Donate