Menu

अय्यूब 9

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “यो यस्‍तै हो भनी म साँच्‍चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्‍वसित ठिक हुन सक्छ ?

3 उसले परमेश्‍वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।

4 परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र ?

5 जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्‍छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।

6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।

7 उहाँ उही परमेश्‍वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्‍नुहुन्‍छ, र त्‍यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्‍नुहुन्छ,

8 जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,

9 उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।

10 उहाँले महान् र अगम्‍य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।

11 हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।

12 उहाँले कुनै कुरो खोस्‍नुभयो भने कसले उहाँलाई रोक्‍न सक्छ ? कसले उहाँलाई भन्‍न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ ?'

13 परमेश्‍वरले आफ्नो रिस रोक्‍नुहुन्‍न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।

14 कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्‍न सक्छु र ?

15 म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्‍दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्‍छु ।

16 मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्‍नुभयो भनेर म विश्‍वास गर्दिनँ ।

17 किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।

18 उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्‍न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।

19 ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ ?

20 म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।

21 म दोषरहित छु, तर अब फेरि म आफ्‍नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।

22 यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्‍ट मानिसलाई सँगसँगै नष्‍ट गर्नुहुन्छ ।

23 जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।

24 पृथ्वी दुष्‍ट मानिसको हातमा दिइएको छ । परमेश्‍वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्‍नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्‍न भने त्‍यो को हो त ?

25 मेरा दिनहरू कुद्‍ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।

26 ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।

27 आफ्‍ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्‍नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,

28 आफ्‍ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्‍दछु ।

29 म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने ?

30 आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्‍ना हात अत्यन्तै सफा बनाए पनि,

31 परमेश्‍वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।

32 किनकि परमेश्‍वर मजस्तै मानिस हुनुहुन्‍न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।

33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।

34 अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।

35 तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

Everything we make is available for free because of a generous community of supporters.

Donate