Menu

अय्यूब 3

ULB

1 यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।

2 तिनले भने,

3 “म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'

4 त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।

5 अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्‍चै त्रसित पारोस् ।

6 निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।

7 हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।

8 लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।

9 त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

10 किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्‍टलाई लुकाएन ।

11 मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्‍नो आत्मा किन त्यागिनँ ?

12 उनका घुँडाहरूले मलाई किन स्वागत गरे ? मैले दूध चुस्‍नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे ?

13 किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,

14 पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्‍वस्‍त छन् ।

15 अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्‍थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।

16 अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।

17 त्यहाँ दुष्‍टको अत्‍याचार सकिन्‍छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।

18 त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्‍नुपर्दैन ।

19 त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्‍वतन्‍त्र हुन्छ ।

20 दुःखमा हुनेलाई किन ज्योति दिइन्छ ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ ?

21 जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ ।

22 जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ ?

23 जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्‍वरले छेक्‍नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ ?

24 किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।

25 जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।

26 म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate