Menu

अय्यूब 26

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “शक्ति नभएको मानिसलाई तपाईंले कसरी मदत गर्नुभएको छ ! ताकत नभएको पाखुरालाई तपाईंले कसरी बचाउनुभएको छ !

3 बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ !

4 कसको सहायताद्वारा तपाईंले यी वचनहरू बोल्नुभएको छ ? तपाईंबाट बाहिर निस्केको आत्मा कसको थियो ?

5 मरेकाहरू, पानीमुनि भएकाहरू र त्यहाँ बास गर्नेहरू, सबैलाई त्रसित पारिएको छ ।

6 परमेश्‍वरको सामु चिहान उदाङ्गो छ । विनाश आफै पनि उहाँबाट लुक्‍न सक्‍दैन ।

7 उत्तरी आकाशलाई उहाँले खुल्‍ला अन्तरिक्षमा तन्‍काउनुहुन्छ, अनि पृथ्वीलाई उहाँले शून्यतामा झुण्ड्याउनुहुन्छ ।

8 उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।

9 उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।

10 उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।

11 उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्‍क पर्छन् ।

12 आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।

13 आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।

14 हेर्नुहोस्, यी त उहाँको शक्तिको किनाराहरू मात्र हुन् । हामीले उहाँको बारेमा एउटा मधुर सोर मात्रै सुन्छौँ । उहाँको शक्तिको गर्जनलाई कसले बुझ्न सक्छ र ?”

Everything we make is available for free because of a generous community of supporters.

Donate