Menu

अय्यूब 19

ULB

1 तब अय्यूबले जवाफ दिए र भने,

2 “कहिलेसम्म तपाईंहरूले मलाई दुःख दिनुहुन्‍छ, र वचनले मलाई टुक्राटुक्रा पार्नुहुन्‍छ ?

3 यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

4 मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्‍नै सरोकारको कुरो हो ।

5 तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्‍छ, र मेरो तुच्‍छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्‍छ भने,

6 तब तपाईंहरूले जान्‍नुपर्छ, परमेश्‍वरले मेरो हानि गर्नुभएको र मलाई आफ्‍नो पासोमा पार्नुभएको छ।

7 हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्‍पक्ष व्‍यवहार हुँदैन ।

8 मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

9 उहाँले मेरो महिमा हटाउनुभएको छ, र उहाँले मेरो शिरको मुकुट हटाउनुभएको छ ।

10 उहाँले मलाई चारैतिरबाट चूर पार्नुभएको छ, र लोप हुन्‍छ, उहाँले मेरो आशा रूखलाई झैं उखेल्‍नुभएको छ ।

11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।

12 उहाँका फौजहरू सँगसँगै आउँछन् । तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्, र मेरो पालको चारैतिर छाउनी हाल्छन् ।

13 उहाँले मेरा दाजुभाइलाई मबाट टाढा राख्‍नुभएको छ । मैले चिनजानकाहरू मबाट बिलकुल अलग रहन्छन् ।

14 मेरा आफन्तहरू मबाट पछि हटेका छन् । मेरो घनिष्ठ मित्रहरूले मलाई बिर्सेका छन् ।

15 मेरो घरमा कुनै बेला पाहुना भएर रहेकाहरू र दासीहरूले मलाई बिरोनो ठान्छन् । तिनीहरूको दृष्‍टिमा म अनौठो भएको छु ।

16 म आफ्‍नो सेवकलाई बोलाउँछु, तर उसले मलाई जवाफ दिंदैन । मैले आफ्‍नै मुखले त्यसलाई बिन्ती गर्छु ।

17 मेरो सास मेरी पत्‍नीलाई दुर्गन्धित लाग्छ । मेरै आमाको गर्भबाट जन्मेकाहरूले पनि मलाई घृणा गर्छन् ।

18 सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्‍दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।

19 मेरा सबै परिचित मित्रहरूले मलाई घृणा गर्छन् । मैले प्रेम गरेकाहरू मेरो विरुद्धमा लागेका छन् ।

20 मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।

21 मलाई दया गर्नुहोस्, हे मेरा मित्रहरू हो, मलाई दया गर्नुहोस्, किनकि परमेश्‍वरको हातले मलाई छोएको छ ।

22 परमेश्‍वरले झैं तपाईंहरू किन मेरो खेदो गर्नुहुन्छ ? मेरो शरीरले तपाईंहरूलाई कहिल्यै सन्तुष्‍ट पार्छ र ?

23 ओहो, मेरो वचनहरू यति बेला लेखिए त ! ओहो, ती एउटा पुस्तकमा लेखिए त !

24 ओहो, फलामको कलम र छिनोले, सदाको लागि ती चट्टानमा खोपे त !

25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।

26 मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

27 मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

28 तपाईंहरूले यसो भन्‍नुहुन्‍छ भने, 'हामी उसलाई कसरी सताउँ ! उसको सङ्कष्‍टको जड ऊ आफै हो,'

29 तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्‍याय हुन्‍छ भनी तपाईंहरूले जान्‍नुहुनेछ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate