Menu

यूहन्‍ना 2

ULB

1 तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।

2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।

3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”

4 येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ ? मेरो समय अझ आइसकेको छैन ।”

5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” ।

6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।

7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।

8 तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।

9 मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए

10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”

11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।

12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।

13 यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।

14 उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।

15 त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।

16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”

17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”

18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ ?”

19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”

20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने ?”

21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

22 त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।

23 उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे ।

24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,

25 किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate