Menu

यर्मिया 35

ULB

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो,

2 “रेकाबीका परिवारहरूकहाँ जा र तिनीहरूसित बात गर् । त्यसपछि तिनीहरूलाई मेरो मन्दिरमा लिएर आइज, त्‍यहाँको एउटा कोठामा राख, र तिनहरूलाई दाखमद्य पिउन दे ।”

3 त्यसैले मैले यर्मियाका छोरा, हबसिन्याहका नाति याजन्याह र तिनका भाइहरू, तिनका सबै छोरा र रेकाबीहरूका सबै परिवारलाई ल्‍याएँ ।

4 मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।

5 तब मैले रेकाबीहरूका सामु दाखमद्यले भरिएका कचौरा र गिलासहरू राखिदिएँ, र तिनीहरूलाई भनें, “अलिकति दाखमद्य पिओ ।”

6 तर तिनीहरूले भने, “हामी दाखमद्य पिउनेछैनौं, किनकि रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिए, 'तिमीहरू र तिमीहरूका सन्तानले कहिल्यै पनि दाखमद्य नपिउनू ।’

7 साथै, कुनै घरहरू नबनाओ, बीउ नरोप वा दाखबारी नलगाओ । यो तिमीहरूका लागि होइन । किनकि आफ्‍नो जीवनभर तिमीहरू पालमा बस्‍नुपर्छ, ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्‍न सक्‍नेछौ ।'

8 हामी, हाम्रा पत्‍नीहरू, हाम्रा छोराछोरीहरूले आफ्नो जीवनभरि कहिल्यै दाखमद्य पिउनुहुँदैन भन्‍ने हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले मानेका छौं ।

9 बस्‍नको लागि हामी कहिल्यै घरहरू बनाउनेछैनौं, र हाम्रो सम्पत्तिको रूपमा दाखबारी, जग्गाजमिन वा बीउ हुनेछैन ।

10 हामी पालमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं ।

11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”

12 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

13 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ ? यो परमप्रभुको घोषणा हो ।

14 दाखदमद्य नपिउनू भनेर रेकाबका छोरा योनादाबले आफ्ना छोराहरूलाई आज्ञाको रूपमा दिएको वचनलाई आजको दिनसम्म पालन गरिएको छ । तिनीहरूले आफ्ना पुर्खाहरूको आज्ञा मानेका छन् । तर मेरो विषयमा म आफैंले तिमीहरूका लागि निरन्तर घोषणा गरिरहेको छु तर तिमीहरू मेरा कुरा सुन्दैनौ ।

15 मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।

16 रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्‍ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन्, तर यी मानिसले मेरो कुरा सुन्‍न इन्कार गर्छन् ।'”

17 त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”

18 यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—

19 त्यसैले सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'रेकाबका छोरा योनादाबको वंशमा मेरो सेवा गर्न सधैं कोही न कोही हुनेछ' ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate