Menu

यर्मिया 18

ULB

1 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

2 “उठ् र कुमालेको घरमा जा, किनकि त्यहाँ म तँलाई मेरो वचन सुनाउनेछु ।”

3 त्यसैले म कुमालेको घरमा गएँ र हेरें । कुमाले आफ्नो चक्‍कामा काम गरिरहेको थियो ।

4 तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको आफ्नै हातमा बिग्रियो । त्यसैले उसले आफ्नो मन बद्ल्‍यो र आफ्‍नो दृष्‍टिमा असल लागेअनुसार अर्को भाँडो बनायो ।

5 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

6 “ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ र ? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्‍तै छौ ।

7 एक समय एक जाति वा राज्यलाई म धपाउनेछु, त्‍यसलाई तोड्नेछु वा नष्‍ट गर्नेछु भनी म घोषणा गर्न सक्छु ।

8 तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।

9 अर्को समयमा मैले कुनै जाति वा राज्यलाई बनाउने वा रोप्नेछु भनी म घोषणा गर्न सक्छु ।

10 तर मेरो कुरा नसुनेर त्‍यसले मेरो दृष्‍टिमा खराबी गर्छ भने, मैले त्यसलाई गर्नेछु भनेको घोषणाको भलाइ गर्न म रोक्‍नेछु ।

11 त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'

12 तर तिनीहरू भन्छन्, 'यो व्यर्थ छ । हामी आफ्‍नै योजनाअनुसार काम गर्नेछौं । हामी हरेकले आफ्नै दुष्‍ट, हठी हृदयले इच्छा गरेअनुसार गर्नेछौं ।'

13 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “जातिहरूलाई सोध्, यो जस्‍तो कुरो कसले कहिलै सुनेको छ ? इस्राएली कन्याले अति घृणित काम गरेकी छे ।

14 के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र ? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्‍छन् र ?

15 तापनि मेरा मानिसहरूले मलाई भुलेका छन् । तिनीहरूले बेकम्मा मूर्तिहरूलाई भेटी चढाएका छन्, र आफ्‍ना मार्गहरूमा ठक्‍कर खाएका छन् । कच्‍ची बाटोमा हिंड्न भनेर तिनीहरूले प्राचीन बाटोलाई छाडेका छन् ।

16 तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।

17 तिनीहरूका शत्रुहरूकै सामु म तिनीहरूलाई पुर्वीय बतासझैं तितर-बितर पार्नेछु । तिनीहरूको विपत्तिको दिनमा म तिनीहरूलाई मेरो पिठिउँ फर्काउनेछु, मेरो मुहार होइन ।”

18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”

19 हे परमप्रभु, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्, र मेरा शत्रुहरूका आवाज सुन्‍नुहोस् ।

20 म तिनीहरूका लागि असल भएको हुनाले के साँच्‍चै तिनीहरूबाट आउने विपत्ति मेरो इनाम हुनेछ ? किनकि तिनीहरूले मेरो लागि एउटा खाडल खनेका छन् । तिनीहरूबाट तपाईंको क्रोध हटाउन तिनीहरूको कल्याणको पक्षमा म कसरी तपाईंको सामु खडा भएको थिएँ भनी सम्झनुहोस् ।

21 त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

22 तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

23 तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

Everything we make is available for free because of a generous community of supporters.

Donate