Menu

यशैया 54

ULB

1 “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।

2 “उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।

3 किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।

4 नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।

5 किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।

6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।

7 “छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।

9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।

10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।

11 ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।

12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।

13 अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।

14 धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।

15 हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।

16 हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।

17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate