Menu

हबकूक 2

ULB

1 म मेरो सुरक्षा-कक्षमा उभिनेछु र पहरा-पर्खालमा म बस्‍नेछु, र उहाँले मलाई के भन्‍नुहुनेछ, र म कसरी आफ्नो अभियोगबाट फर्कूँ भनेर हेर्नलाई म ध्यान दिनेछु ।

2 परमप्रभुले मलाई जवाफ दिनुभयो, “यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख्, ताकि यो पढ्नेचाहिँ दौडोस् ।

3 किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।

4 हेर्, गलत इच्छा गर्नेचाहिँ घमण्डले फुलेको छ । तर धर्मीचाहिँ आफ्नो विश्‍वासले जिउनेछ ।

5 किनकि घमण्डी जवान मानिसको निम्ति मद्य विश्‍वासघाती हुन्छ, र यसैकारण त्यसले सहन सक्दैन, तर त्यसले आफ्ना इच्छाहरूलाई चिहानझैँ बढाउँछ,र त्यो मृत्युझैँ कहिल्यै सन्तुष्‍ट हुँदैन । त्यसले आफ्नो निम्ति सारा जाति र मानिसहरूलाई भेला गराउँछ ।

6 के यी सबैले त्यसको ठट्टा गर्ने एउटा यस्तो भनाइ र त्यसको विषयमा हाँसोको रूपमा यस्तो गीत सृजना गर्दैन र, ‘धिक्‍कार त्यसलाई जसले जे आफ्नो होइन त्यो थुपार्छ । कहिलेसम्म तैँले आफूले बन्धकमा लिएका कुराहरूको वजन बढाउँदै जान्छस्?’

7 के तँलाई टोक्‍नेहरू अचानक उठ्नेछैनन्, अनि तँलाई त्रासमा राख्‍नेहरू जाग्‍नेछैनन्? तँ तिनीहरूका निम्ति शिकार बन्‍नेछस् ।

8 तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।

9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

10 तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।

11 किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

12 ‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’

13 के सेनाहरूका परमप्रभुले यो भन्‍नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?

14 तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।

15 ‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’

16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ ।

17 लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।

18 खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ ।

19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।

20 तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate