Menu

उत्पत्ति 27

ULB

1 जब इसहाक वृद्ध भए र तिनका आँखा कमजोर भएर देख्‍न नसक्‍ने भए, तब तिनले आफ्‍ना जेठा छोरा एसावलाई बोलाएर भने, “ए मेरो छोरो ।” उनले तिनलाई जवाफ दिए, “हजुर, म यहीँ छु ।”

2 तिनले भने, “हेर्, म वृद्ध भएँ । मेरो मर्ने दिनको बारेमा मलाई थाहा छैन ।

3 अब तेरा हतियारहरू, अर्थात्‌ तेरो ठोक्रो र धनु लिएर मैदानमा जा, र मेरो निम्‍ति सिकार गर् ।

4 मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाई मकहाँ ले ताकि यो खाएर मेरो मृत्‍युअगि म तँलाई आशिष्‌ दिऊँ ।”

5 इसहाकले आफ्नो छोरो एसावसँग कुरा गरेको रिबेकाले सुनिन् । एसाव शिकार मारेर ल्‍याउन मैदानमा गए ।

6 रिबेकाले आफ्‍ना छोरा याकूबलाई भनिन्, “हेर्, तेरा पिताले तेरो दाजु एसावसँग यसो भनेर कुरा गरेको मैले सुनेँ ।

7 ‘सिकार मारेर मकहाँ ले र मलाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बना ताकि यो खाएर मेरो मृत्‍युअगि परमप्रभुको सामुन्‍ने तँलाई आशिष्‌ दिन सकूँ ।’

8 यसकारण यसकारण ए मेरो छोरो, मैले तँलाई दिएका आज्ञा मान् ।

9 बथानमा गएर दुईवटा असल पाठा लिएर आइज, र म तेरा बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी बनाउनेछु ।

10 अनि तैंले त्‍यो तेरा बुबाकहाँ लैजा, ताकि तिनले यो खाएर आफ्‍नो मृत्‍युअगि तँलाई आशिष्‌ देऊन् ।”

11 याकूबले आफ्‍नी आमा रिबेकालाई भने, “हेर्नुहोस्, मेरा दाजु एसाव रौँ नै रौँ भएका मानिस हुन्‌, र मचाहिँ रौँ नभएको छु ।

12 सायद मेरा पिताले मलाई छाम्‍नुहुनेछ, र उहाँको सामु म छली देखिनेछु । मैले ममाथि आशिष्‌ होइन, सराप ल्याउनेछु ।”

13 तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस्‌ । केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले ।”

14 तब तिनी गएर ती पाठा ल्‍याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌ ।

15 रिबेकाले घरमा भएका आफ्‍ना जेठो छोरो एसावका असल लुगाहरू झिकेर आफ्नो कान्‍छा छोरो याकूबलाई लगाइदिइन्‌ ।

16 बाख्राका पाठाका छालाहरू तिनले याकूबका हात र घाँटीका रौँ नभएका भागमा लगाइदिइन्,

17 अनि आफूले तयार पारेका स्‍वादिष्‍ठ तरकारी र रोटी आफ्‍ना छोरा याकूबका हातमा दिइन्‌ ।

18 याकूबले आफ्‍ना पिताकहाँ गएर भने, “बुबा ।” इसहाकले भने, “हँ, तँ को होस्‌?”

19 याकूबले आफ्‍ना पितालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ । तपाईंले मलाई भनेबमोजिम मैले गरेको छु । अब उठेर बस्‍नुहोस्, र मैले ल्‍याएको सिकारको मासु खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

20 इसहाकले आफ्‍ना छोरालाई भने, “मेरो छोरो, कसरी तैँले यति चाँडै त्‍यो भेट्टाउन सकिस्‌?” तिनले भने, “परमप्रभु तपाईंका परमेश्‍वरले यसलाई मकहाँ ल्याउनुभयो ।”

21 इसहाकले याकूबलाई भने, “मेरो छोरो, नजिकै आइज, तँ मेरो छोरो एसाव होस्‌ कि होइनस्‌ म छामेर थाहा पाउन सकूँ ।”

22 याकूब आफ्‍ना पिताको नजिकै गए, र इसहाकले तिनलाई छामेर भने, “सोर त याकूबको हो, तर हातहरू त एसावकै हुन्‌ ।”

23 तिनका हातहरू तिनका दाजु एसावकै हातजस्‍ता रौँ नै रौँ भएका हुनाले इसहाकले तिनलाई चिनेनन्‌, त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए ।

24 इसहाकले सोधे, “के तँ साँच्‍चै मेरो छोरो एसाव नै होस्‌?” याकूबले जवाफ दिए, “म एसाव नै हुँ ।”

25 तब इसहाकले भने, “तैँले शिकार गरेको मासु यहाँ ले, र म खानेछु, र तँलाई आशिष्‌ दिऊँ ।” याकूबले त्‍यो मासु आफ्‍ना पिताकहाँ ल्‍याए । उनले खाए र याकूबले दाखमद्य पनि लगिदिए, र उनले पिए ।

26 तब तिनका पिता इसहाकले तिनलाई भने, “ मेरो छोरो, मेरो नजिकै आएर मलाई मलाई चुम्बन गर् ।”

27 याकूब नजिक गएर आफ्‍ना पितालाई चुम्बन गरे । अनि इसहाकले तिनका लुगाहरूको गन्‍ध सुँघेर यसो भनी आशिष्‌ दिए, “हेर, मेरो छोराको बास्‍ना, परमप्रभुले आशिष्‌ दिनुभएको खेतको बास्‍नाजस्‍तै छ ।

28 परमेश्‍वरले तँलाई आकाशको शीत र पृथ्‍वीको प्रचुरता अनि धेरै दाखमद्य र अन्‍न देऊन् ।

29 मानिसहरूले तेरो सेवा गरून्‌ र जाति-जातिहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तेरा दाजुभाइहरूको मालिक बन्, र तेरी आमाका छोराहरूले तँलाई दण्‍डवत्‌ गरून्‌ । तँलाई सराप्‍नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष्‌ दिनेहरू सबैले आशिष्‌ पाऊन्‌ ।”

30 इसहाकले आशिष्‌ दिइसक्‍ने बित्तिकै याकूब आफ्‍ना पिता इसहाकको उपस्थितिबाट निस्‍केर गएका मात्र थिए, उनका उनका दाजु एसाव शिकार खेलेर आइपुगे ।

31 उनले पनि स्‍वादिष्‍ठ तरकारी तयार गरेर आफ्‍ना पिताकहाँ ल्‍याए । उनले आफ्‍नो पितालाई भने, “बुबा, उठेर आफ्‍नो छोराले ल्‍याएको सिकार खानुहोस्, र मलाई आशिष्‌ दिनुहोस्‌ ।”

32 उनका पिता इसहाकले उनलाई सोधे, “तँ को होस्‌?” उनले उत्तर दिए, “म तपाईंको जेठो छोरो एसाव हुँ ।”

33 इसहाक बेसरी कामे र भने, “त्यसो भए सिकार मारेर यहाँ मकहाँ ल्‍याउने त्यो को थियो? तँ आउन अगि नै मैले त्‍यो सबै खाएर त्‍यसलाई आशिष्‌ दिइसकेँ । वास्तवमा, त्‍योचाहिँ आशीर्वादी हुनेछ।”

34 जब एसावले आफ्‍ना पिता इसहाकका कुरा सुने तब उनी अत्‍यन्‍तै विह्वल भई चर्को सोरले रोए र आफ्‍ना पितालाई भने, “हे मेरा बुबा, मलाई पनि आशिष्‌ दिनुहोस्‌ ।”

35 इसहाकले भने, “तेरो भाइ छल गरेर आयो, र तैंले पाउने आशिष्‌ लग्यो ।”

36 एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

37 इसहाकले एसावलाई जवाफ दिए, “हेर्, मैले त्‍यसलाई तेरो मालिक तुल्‍याइसकेँ । र त्‍यसका सबै दाजुभाइहरूलाई मैले त्‍यसका दास तुल्‍याएँ । अन्‍न र दाखमद्यले मैले त्‍यसलाई तृप्‍त पारेको छु । अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?”

38 एसावले आफ्‍ना पितालाई भने, “तपाईंसित मेरो निम्ति एउटै मात्र आशिष्‌ छैन र मेरा बुबा? मलाई पनि त आशिष्‌ दिनुहोस्‌ ।” एसाव डाँको छोडेर रोए ।

39 उनका पिता इसहाकले जवाफ दिएर भने, “हेर्, तँ बस्‍ने जमिन पृथ्‍वीको प्रशस्‍तताबाट बाहिरै हुनेछ, आकाशको शीतबाट बाहिर ।

40 तैंले आफ्‍नो तरवारको बलले जीविका चलाउनेछस् र तैंले तेरो भाइको सेवा गर्नेछस्‌ । तर जब तैंले विद्रोह गर्नेछस्, तब त्‍यसको जुवा तेरो काँधबाट हल्‍लाएर फ्‍याँक्‍नेछस्‌ ।”

41 आफ्‍ना पिताले याकूबलाई दिएको त्‍यस आशिष्‌ले गर्दा एसावले तिनलाई घृणा गर्न लागे । एसावले हृदयमा भने, “मेरा पिताको शोकको बेला नजिकै छ । त्‍यसपछि म मेरो भाइ याकूबलाई मार्नेछु ।”

42 तिनका जेठा छोरा एसावको यो कुरा रिबेकालाई सुनाइयो । यसकारण रिबेकाले आफ्‍ना कान्‍छा छोरा याकूबलाई बोलाएर भनिन्, “हेर्, तेरो दाजु एसावले तँलाई मार्ने विचार गरेर आफ्‍नो चित्त बुझाएको छ ।

43 यसकारण मेरो छोरो, मैले भनेको कुरा मान्‌ र हारानमा मेरा दाजु लाबानकहाँ भागेर जा ।

44 तँप्रति तेरो दाजुको रिस नमरुञ्‍जेल केही दिन त्‍यहाँ उनीसँग बस्‌ र

45 तैंले त्यसमाथि गरेको काम बिर्सन्छ । त्यसपछि म तँलाई त्‍यहाँबाट लिन पठाउनेछु । मैले एकै दिनमा तिमीहरू दुवै जनालाई किन गुमाउने?”

46 रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्‍त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्‍यो । यदि याकूबले यस देशका स्‍त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‍यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ र?”

Everything we make is available for free because of a generous community of supporters.

Donate