Menu

प्रस्थान 33

ULB

1 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।

2 म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।

3 दूध र मह बग्‍ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”

4 जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।

5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्‍ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”

6 त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।

7 मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।

8 मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्‍जेलसम्म तिनलाई हेर्ने गर्थे ।

9 मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।

10 कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।

11 एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।

12 मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्‍नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस् ।'

13 अब मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्‍न सकूँ र तपाईंको दृष्‍टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।”

14 परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”

15 मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।

16 किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्‍टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”

17 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्‍नेछु किनकि तैँले मेरो दृष्‍टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”

18 मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”

19 परमप्रभुले भन्‍नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”

20 तर परप्रभुले भन्‍नुभयो, “तैँले मेरो अनुहार देख्‍न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”

21 परमप्रभुले भन्‍नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।

22 मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।

23 त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्‍नेछस्, तर मेरो अनुहारचाहिँ देख्‍नेछैनस् ।”

Everything we make is available for free because of a generous community of supporters.

Donate