Menu

एस्तर 4

ULB

1 जब मोर्दकैले यी सबै कुरा थाहा पाए, तब तिनले आफ्ना लुगा च्याते अनि भाङ्ग्रा र खरानी लगाए । तिनी सहरको बिचमा गए, र ठुलो सोरले कराए, र विलाप गरे ।

2 तिनी राजाको ढोकासम्म मात्र गए किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर त्यसबाट जान अनुमति थिएन ।

3 राजाको हुकुम र आदेश पुगेको हरेक प्रान्तमा यहूदीहरूका माझमा उपवास, रुवाबासी र विलासँगै ठुलो शोक थियो । तिनीहरूमध्ये धेरै जानले भाङ्ग्रा लगाए, र खरानीमा बसे ।

4 जब एस्तरका युवतीहरू र सेविकाहरू आएर उनलाई त्‍यो कुरा बताए, तब रानी ठुलो शोकमा डुबिन् । उनले मोर्दकैको लागि पोशाकहरू पठाइन् (ताकि तिनले भाङ्ग्रा फुकालून्), तर तिनले ती स्वीकार गरेनन् ।

5 तब एस्तरको सेवा गर्न खटाइएका राजाका अधिकारीहरूमध्ये हताकलाई तिनले बोलाइन् । के भएको थियो र यसको अर्थ के हो भनी जान्‍न उनले तिनलाई मोर्दकैकहाँ पठाइन् ।

6 त्यसैले हताक राजाको ढोकाको सामु सहरको खुला चोकमा मोर्दकैकहाँ गए ।

7 मोर्दकैको जीवनमा आइपरेका सबै कुरा, र यहूदीहरूलाई मार्नका लागि हामानले राज्यकोषमा दिने प्रतिज्ञा गरेका सम्पूर्ण चाँदीको मात्राबारे तिनले हताकलाई विवरण दिए ।

8 यहूदीहरूको विनाशको निम्ति शूशनमा जारी गरिएको उर्दीको नक्‍कल पनि तिनले हताकलाई दिए । हताकले यो एस्तरलाई देखाउन सकून्, अनि राजाको निगाहा प्राप्‍त गर्नलाई गएर बिन्‍ति चढाउने र आफ्नो जातिको पक्षमा उहाँलाई याचना गर्ने जिम्‍मेवारी तिनले उनलाई दिन सकून् भनेर तिनले यसो गरे ।

9 त्यसैले हताक गए र मोर्दकैले तिनलाई भनेका कुरा एस्तरलाई बताए ।

10 तब एस्तरले हताकसित कुरा गरिन्, र तिनलाई मोर्दकैकहाँ फर्केर जान आज्ञा दिइन् ।

11 उनले भनिन्, “राजाका सबै अधिकारी र राजाका प्रान्तहरूका मानिसहरूलाई थाहा छ, कि राजाको नबोलाइकन कुनै पुरुष वा स्‍त्री भित्री दरबारमा प्रवेश गर्‍यो भने, त्यसको लागि एउटा मात्र कानुन छः कुनै व्‍यक्ति बाँचोस् भनेर राजाले आफ्नो सुनको राजदण्ड पसार्नुभएन भने त्यो मारिने छ । म आफैलाई पनि राजाकहाँ नबोलाइएको तिस दिन भइसक्यो ।”

12 त्यसैले हताकले एस्तरको कुरा मोर्दकैलाई बताए ।

13 मोर्दकैले यो सन्देश पठाए, “तिमी राजदरबारमा भएकी हुनाले अरू सबै यहूदीमध्ये तिमीचाहिं बाँच्नेछ्यौ भनी तिमीले नसोचे हुन्‍छ ।

14 यस बेला तिमी चुप लाग्यौ भने, यहूदीहरूका निम्ति सहायता र छुटकारा अरू ठाउँबाट आउनेछ, तर तिमी र तिम्रो पिताको परिवार नष्‍ट हुनेछ । यस्तै समयको लागि नै तिमी यो राजकीय पदमा पुगेकी हुन सक्‍छ्‍यौ भनी कसलाई थाहा छ ?”

15 तब एस्तरले मोर्दकैलाई यो सन्देश पठाइन्,

16 “जानुहोस्, र मेरो निम्ति उपवास बस्‍न शूशनमा बस्‍ने सबै यहूदीलाई भेला गर्नुहोस् । तिन दिन र तिन रातसम्म केही नखानुहोस्, न त केही पिउनुहोस् । मेरा युवतीहरू र म पनि त्यसरी नै उपवास बस्‍नेछौँ । त्यसपछि कानुनको विरुद्धमा भए तापनि म राजाकहाँ जानेछु, र मेरो नाश हुन्छ भने पनि होस् ।”

17 मोर्दकै गए, र तिनले एस्तरले भनेझैँ सबै गरे ।

Everything we make is available for free because of a generous community of supporters.

Donate