Menu

एफिसि 1

ULB

1 पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट परमेश्‍वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य भएकाहरूलाई,

2 हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

3 परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।

4 यस संसारको सृष्‍टिभन्दा पहिले नै हामी ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले चुन्‍नुभयो । उहाँको दृष्‍टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्‍नुभयो ।

5 प्रेममा परमेश्‍वरले हामीलाई येशू ख्रीष्‍टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्‍न हुनुभयो ।

6 नतिजा यो हो, कि परमेश्‍वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।

7 अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।

8 पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रश‍स्त मात्रामा हामीलाई दिनुभएको थियो ।

9 परमेश्‍वरले आफ्नो इच्छा अनुसार ख्रीष्‍टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्‍त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।

10 उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।

11 येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।

12 उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्‍वरले यो गर्नुभयो । हामी ख्रीष्‍टमा भरोसा राख्‍ने पहिलो व्‍यक्तिहरू थियौँ ।

13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।

14 हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।

15 यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,

16 मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।

17 म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

18 म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्‍चयता के हो भनेर जान्‍नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्‍न सकोस् ।

19 हामी विश्‍वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्‍न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।

20 यो यही शक्ति हो जुन परमेश्‍वरले ख्रीष्‍ट येशूलाई मृत्‍युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्‍टमा कार्य गर्दैथियो ।

21 उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्‍टलाई राख्‍नुभएको छ ।

22 परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ ।

23 उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।

Everything we make is available for free because of a generous community of supporters.

Donate