Menu

उपदेशक 6

ULB

1 मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्‍है थिचेको छ ।

2 मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्‍वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्‍वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्‍न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।

3 कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।

4 यस्तो बच्‍चा व्यर्थमा जन्मन्छ र अन्धकारमा लोप हुन्छ, अनि त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ ।

5 त्यस बच्‍चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।

6 मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।

7 मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्‍ट हुँदैन ।

8 वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र ? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र ?

9 भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्‍ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

10 जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।

11 जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र ?

12 किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र ? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र ?

Everything we make is available for free because of a generous community of supporters.

Donate