Menu

व्यवस्था 6

ULB

1 अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

2 तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्‍नू ।

3 त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्‍ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।

4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।

5 तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।

6 आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।

7 अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।

8 तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।

9 तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्‍नू ।

10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला

11 र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्‍त हुने छौ,

12 तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।

13 परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।

14 तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्‍नू,

15 किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्‍ट पार्नुहुने छ ।

16 मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू ।

17 तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

18 तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,

19 अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।

20 भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन् ?' भनी सोध्दा

21 तिमीले आफ्नो छोरोलाई भन्‍नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,

22 र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्‍चर्यहरू देखाउनुभयो ।

23 उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

24 परमप्रभुले सधैँ यी सबै विधिविधान मान्‍न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्‍नुभएको होस् ।

25 हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'

Everything we make is available for free because of a generous community of supporters.

Donate